राष्ट्रपति पौडेल दिन भर गृह जिल्ला तनहुँमा व्यस्त, भयरथान मन्दिरको दर्शन देखि सभा हल उद्घाटनमा सहभागी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले, तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् ।
आज गृह जिल्ला तनहुँ पुगेका राष्ट्रपति पौडेलले, मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सात सय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रूपमा पुज्दै आएको सो मन्दिरको दर्शन गरेका हुन् ।
आजै राष्ट्रपति पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबिच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्कको समेत उद्घाटन गरेका छन् ।
राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरणसमेत गरेका छन् ।
सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउन्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभा हल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङ स्थलको व्यवस्था छ ।