अमेरिकामा रहेका जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले पाए पाँचौँ डान
पेन्सिल्भेनिया,अमेरिका/ न्यु योर्क निवासी जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले इन्टरनेश्नल जुडो फेडेरेशनबाट पाँचौँ डान प्राप्त गरेका छन्।
फेडेरेशनबाट पाँचौँ डान प्राप्त गर्ने कर्माचार्य पहिलो नेपालीमुलका अमेरिकन हुन्।
‘यो मेरो लागि खुसीको कुरा हो, फेरेडेशनबाट पाँचौँ डान प्राप्त गर्ने नेपालीमा नै म पहिलो हो।’ समाज टाइम्स सँग कर्माचार्यले भने।
समग्र नेपालीमा भने कर्माचार्य जुडोमा पाँचौँ डान प्राप्त गर्ने पाँचौँ व्यक्ति हुन्। उनका अनुसार यस अगाडि एशियाली जुडो महासंघबाट वीरेन्द्र रञ्जीत, ऋषिराम प्रधान, गंगाराम ढंगोल र वीर बहादुर राणाले पाँचौँ डान प्राप्त गरेका छन्।
कर्माचार्य पछिल्लो एक दशक देखि अमेरिकाको न्यु योर्क बस्दै आएका छन्। उनले फेडेरेशनबाट रेफ्रि र कोचिङ्ग दुवै तर्फ सेकेन्ड लेबल लाइसेन प्राप्त गरेका छन्।
कर्माचार्यले यस अगाडि यु एस ओपन समेत खेलाएका थिए। त्यस्तै उनी क्यानडाको क्यालगेरीमा पान अमेरिकन जुडो फेडेरेशन तथा ओसिएन जुडोद्वारा आयोजित रेफ्रि सेमिनारमा समेत भाग लिएका थिए।
सो सेमिनारमा १६ देशका ८५ रेफ्रिको सहभागिता रहेको थियो।
क्यानडा सहित अमेरिका, ब्राजिल, कोलम्बिया ,मेक्सिको ,पेरु, न्यूजील्याण्ड, अर्जेन्टिना, अजरबैजान,अस्ट्रेलिया, पोल्यान्ड , क्युबा, कोस्टारिका, तहीटी , उत्तरी म्यासेडोनिया तथा पूर्वी र दक्षिणी अफ्रिकाका राज्यहरू रेफ्री सहभागी भएका थिए।
उक्त सेमिनार अन्तर्राष्ट्रिय जुडो महासंघका रेफ्रि निर्देशक डेनियल लास्काउले सञ्चालन गरेका थिए।
र यो पनि…
राजेश कर्माचार्यले खेलाए युएस ओपन जुडो च्याम्पियनसिप