राजेश कर्माचार्यले खेलाए युएस ओपन जुडो च्याम्पियनसिप

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका / नेपाली प्रशिक्षक राजेश कर्माचार्यले युएस ओपन जुडो च्याम्पियनसिपमा रेफ्रिको भूमिका निभाएका छन्।
यु एस ओपन विश्वकै प्रतिष्ठित प्रतियोगिता हो। युएस जुडो फेडेरेशनले च्याम्पियनसिप आयोजना गरेको हो। जुलाई २७ देखि ३० तारिक सम्म फ्लोरिडामा भएको च्याम्पियनसिपमा कर्माचार्यले फाइनल वाउट पनि खेलाउन पाएको बताए।
‘यस्तो च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्रिलाई बोलाउने गर्छ, नेपाली रेफ्रिलाई अवसर दिएको यो दोस्रो पटक हो।’ समाज टाइम्स सँग कर्माचार्यले भने, ‘नेपालमा हुँदा नै यस च्याम्पियनसिप खेलाउनको लागि दुई पटक प्रयास गरेको थिए तर भिसाका कारण सम्भव भएको थिएन यस पटक अवसर पाए खुसी छु।’
रेफ्रि कर्माचार्यले आफ्नो करिअरकै लागि यो च्याम्पियनसिप महत्त्वपूर्ण भएको बताए। ‘अनुभव धेरै राम्रो भयो, फाइनल गेम खेलाउन दियो, च्याम्पियनसिपमा अन्य खेल खेलाएका ७० जनामा अन्तर्राष्ट्रिय रेफ्रिबाट उत्कृष्टले फाइनल खेलाउने हो त्यसमा पर्नु ठुलो कुरा हो।’
च्याम्पियनसिपमा उत्कृष्ट रेफ्रि गरेर बापत क्यानडामा हुने सेमिनारमा छनौट भएको समेत कर्माचार्यले बताए।

‘क्यानडामा सेप्टेम्बर १२ र १३ रेफ्रि सेमिनारमा छनौट भएको छु। बरीयतामा पनि राम्रै भएको छ। पाँचमा ४.७ अङ्क दिएको छ राम्रै भएको छ।’ उनले भने,’यो वर्ष पाँच प्रतियोगिता खेलाएको छु सबैमा राम्रो अङ्क पाएको छु।’
यस पटकको यु एस ओपनमा १२ भन्दा बढी देशका २१ सय खेलाडीले भाग लिएका थिए।दैनिक १२ घण्टा तीन दिन सम्म ६ म्याटमा लगातार च्याम्पियनसिप चलेको थियो।
कर्माचार्य नेपालका सफल जुडो प्रशिक्षक तथा रेफ्रि हुन्। उनी सन् २०१४ देखि अमेरिकामा छन्।