संविधान संशोधन गर्नका लागि हतारो गर्नु पर्दैन : केपी ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले,हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।
मङ्गलवार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेका उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भनेका हुन् ।
हतारमा भन्दा केही समय लिएर एकै चोटि संशोधन गर्नु राम्रो हुने भन्दै उनले गम्भीर रूपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले भने, ‘एउटा हिसाबले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिले पनि गम्भीरता भन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरूबाट प्रेसर गर्ने खालका प्रवृत्तिहरू देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरू देखिएको हुनाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न चाहिँ बिर्सन हुँदैन । त्यस कारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन ।’
दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ । तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरू नरहेको ओलीको भनाई छ ।
‘तत्कालीन आवश्यकतालाई हेरेर हामीले दुईचोटी एउटा एउटा विषयमा मात्रै संविधान संशोधन गर्यौँ । अब संविधान संशोधन गर्दा हामीले अलि मेहनत गरेर तत्काल चाहिएको एउटा विषय मात्र होइन केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ ।’ उनले भने ।