अमेरिकामा सम्पन्न हिमालयन खुल्ला तेक्वान्दो च्याम्पियनसिप: एभरेष्ट वल्ड क्लास बाल्टिमोर पहिलो
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकामा सम्पन्न पहिलो हिमालयन खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट वल्ड क्लास बाल्टिमोर खुल्ला तर्फ टिम च्याम्पियन भएको छ।
पेन्सिल्भेनियाको राजधानीमा ह्यारिसबर्गमा शनिवार सम्पन्न च्याम्पियनसिपमा एभरेष्ट कुल ३९ स्वर्ण सहित पहिलो भएको हो।
अमेरिकाका सात राज्यका १९ स्कुलले भाग लिएको एक दिने च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो केन्टकी ३५ स्वर्ण सहित दोस्रो भयो।
यस्तै युनाइटेड एभरेष्ट ह्यारिसबर्ग ३० स्वर्ण सहित तेस्रो भयो। हिमालयन तेक्वान्दो डोजाङ्ग ह्यारिसबर्गले च्याम्पियनसिप गरेको हो। स्थापनाको पाँच वर्षमा नै हिमालयन तेक्वान्दो स्कुल बृहत् च्याम्पियनसिप आयोजना गर्न सफल भयो।
तेक्वान्दो प्रशिक्षक नकुल शर्मा र उनीकी श्रीमती पुनम दुलालले सन् २०१८ मा हिमालयन तेक्वान्दो स्कुल ह्यारिसबर्ग स्थापना गरेका हुन्। शर्मा नेपाली भाषी भुटानी हुन्।
च्याम्पियनसिपमा चार सय २८ जना खेलाडीले चुनौती पस्किएका थिए। नेपाली र नेपाली भाषी बाहेक अन्य समुदायका खेलाडी पनि च्याम्पियनसिपमा सहभागी थिए।
च्याम्पियनसिपमा पुम्से, स्पाइरिङ्ग र ब्रेकिङ्ग गरी तीन वटा विधामा नै प्रतिस्पर्धा गराइएको थियो। खेलाडीको उमेर,तौल र बेल्टको आधारमा डिभिजन विभाजन गरिएको थियो।
वल्ड क्लास तर्फ एसओएस तेक्वान्दो पेन्सिल्भेनिया च्याम्पियन बन्यो। च्याम्पियनसिपमा महिला तर्फ सन्दीपा अमागाई र पुरुष तर्फ लक्ष्मण क्षेत्री उत्कृष्ट रेफ्री घोषित भए।
च्याम्पियनसिपको उद्घाटनमा हिमालयन तेक्वान्दोका खेलाडीले आकर्षक प्रदर्शनी गरेका थिए। यस्तै नेपाली लोक नृत्य पनि प्रस्तुत गरिएको थियो।
उद्घाटनमा प्रमुख अतिथि भर्जिनियाका ग्रान्डमास्टर एचके ली, पेन्सिल्भेनिया राज्यसभाका सांसद द्वय डेभ म्याडिसन र जस्टिन फ्लेमिङ, प्याक्सटन स्कुल प्रिन्सिपल बेनबो, इन्फिनिटी च्याटर स्कुल निर्देशक ट्यामीले च्याम्पियनसिपको सफलताको शुभकामना दिएका थिए।
यस्तै भुटानी कम्युनिटी ह्यारिसबर्गका निर्देशक तेज मिश्र,एसियाली अमेरिकी मामिलाहरूमा गभर्नरको सल्लाहकार आयोगका उपाध्यक्ष अमीना अरशद, समाज सेवी तथा रियल्टर विश्व क्षेत्री, समाजसेवी डा.खेम अधिकारी लगायतको उपस्थिति रहेको थियो।
च्याम्पियनसिपको थप तस्वीरहरु
च्याम्पियनसिपको भिडियो