सुवास नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको बैठकले सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको निधनको शोकमा प्रतिनिधिसभा सभामा एक मिनेट मौन धारण गरिएको थियो ।
गत मङ्गलवार हृदयाघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ ।
उनी संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।
यसअघि बिहीबार नै बसेको राष्ट्रिय सभा बैठकले पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।