अमेरिका निवासी विनम श्रेष्ठले फ्रान्समा सम्पन्न आइरन म्यान विश्व च्याम्पियनसिप पुरा गरे
पेन्सिल्भेनिया,अमेरिका/ मिनियापोलिसमा बसोबास गर्दै आएका विनम श्रेष्ठले फ्रान्सको निसमा भएको आइरन म्यान विश्व च्याम्पियनसिप पुरा गरेका छन्।
९३ देशका खेलाडीले भाग लिएको च्याम्पियनसिप सेप्टेम्बर १० तारिख सोमवार सम्पन्न भएको थियो। विनमले आइरन म्यान विश्व च्याम्पियनसिपमा भाग लिने आफू पहिलो नेपाली खेलाडी भएको दाबी गरेका छन्।
आइरन म्यान विश्व च्याम्पियनसिपमा विनमले नेपालको झन्डा परेड अफ नेशन्समा पुर्याएका थिए। विनमले झन्डालाई पनि अन्तिम रेखामा पुर्याएका थिए। उनले आफ्नो परिवार र राष्ट्रका लागि यो गौरवको क्षण भएको बताएका छन्।
‘आइरन म्यान दौड एक भौतिक उपलब्धि हो जुन केवल थोरै मानिसहरूले आफ्नो जीवनमा देख्नेछन्।’ विनमले आफ्नो अनुभवका बारेमा भनेका छन्. ‘यो संसारको सबैभन्दा कठिन सहनशीलता दौड मध्ये एक मानिन्छ।’
आइरन म्यानमा खेलाडीले दौडनुका अलावा पौडी खेल्नका साथै साइकल चलाएर दुरी छिचोल्नु पर्छ।
यो सबैका लागि १७ घण्टा भित्र कोर्स पुरा गर्नु पर्ने हुन्छ।
पूर्ण कोर्स आइरन म्यानमा २.४ माइल (३.९किमी) पौडी, एक सय १२ माइल (१८०.२किमी) बाइक र २६.२ माइल (४२.२किमी) दौड हुन्छ।
आइरन म्यान वर्ल्ड च्याम्पियनको कोर्स पुरा गरेका विनमले यस अगाडि दुई पटक यस्तो कोर्स पुरा गरेका छन्। उच्च शिक्षाका लागि सन् २००३ मा अमेरिका आएका विनम मिनेसोटामा दुई दशकदेखि बस्दै आएका छन्। हाल मिनियापोलिसमा श्रीमती, आमाबुबा र दुई छोरीहरूसँग बस्छन्।
उनी आफ्नो फिटनेस यात्रा जारी राख्ने, अरूलाई नयाँ चुनौतीहरूको लागि काम गर्न र स्वस्थ जीवनशैली हासिल गर्न उत्प्रेरित गर्ने योजना रहेको बत्ताउँछन्।