चीन भ्रमणमा पुरा हुने एजेन्डामात्रै समेट्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई, आसन्न चीन भ्रमण क्रममा सम्बोधन हुने खालका एजेन्डा मात्रै उठाउन विज्ञहरुले सुझाव दिएका छन् ।
आफ्नो चीन भ्रमणको पूर्व सन्ध्यामा आज अपरान्ह पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका प्रधानमन्त्रीलाई विज्ञहरुले, दुई देशको परम्परागत सम्बन्धलाई ख्याल गर्दै पुरा हुने एजेन्डा मात्रै उठाउन सुझाव दिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।
उनले भने ‘चीन भ्रमणका लागि सल्लाह र सुझावका लागि आमन्त्रण गर्नु भएको थियो । त्यसमा आउनु भएका हाम्रा पूर्व सचिव ज्यूहरु, परराष्ट्र सचिव ज्यूहरु र राजदुत ज्यूहरुले दुई देशको बीचमा परम्परागतरुपमा घनिष्ट सम्बन्ध रही आएको दुईटै देशको बीचको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेवल र भायवल कार्यक्रमहरु मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुईदेशको बीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई चै निरन्तरता दिने कुरामा नै जोड दिनु भएको छ ।’
विज्ञहरुको सुझावलाई प्रधानमन्त्रीले अत्यन्तै चासो र गम्भीरतापूर्वक लिनु भएको उनको भनाई छ । उनले भने ‘प्रधानमन्त्री ज्यूहरुले ती चासोहरुलाई अत्यन्तै चासोका साथ लिनु भएको छ । ’
यसअघि आज आइतबार बिहान नै प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका प्रधानमन्त्रीले आइतबार अपरान्ह विज्ञहरुसंग चीन भ्रमणका विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड आगामी असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।