अरे भाइ तिमी आदेश दिने को हौ ? : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित, एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चको पार्टी विस्तार तथा सुदृढीकरण विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै, उनले पार्टीका निर्णय तल्लो तहसम्म पुर्याउने कुरा प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे ।
‘ फाइँफुइँ लाउने नेताहरू भेटिन सक्छन् । यस्ता नेताहरूको काम छैन । हामीले मान्छेको मन जित्नु पर्छ भनिरहेका छौँ । फाइँफुइँ लाएर कसरी काम हुन्छ ।’ उनले भने ‘ यो मैले भन्दिएँ, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौँ ?’
त्यस्ते उनले पार्टीका निर्णय कार्यान्वयनमा समस्या देखिएको बताए ।
‘निर्णय एउटा छ तल कुरा पुगेकै छैन । अनि पार्टी बन्छ कसरी ? पार्टी त हावादारी बन्छ त्यसपछि, अहिले हाम्रो पार्टी हावादारी जस्तो भएको यही कारणले हो । निर्णय माथि एउटा छ त्यो निर्णय तल पुग्दैन ।’ उनले भने ‘केरामाथि पानी परे जस्तो ट्वार्र पातमाथि पानी पर्छ उता उता जान्छ । जरामा पानी पर्दैन । यो पाराले पार्टी राम्रो बन्दैन ।’
अर्को प्रसङ्गमा उनले सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिद्ध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए ।
उनले भने,‘अहिले पनि हाम्रा अगाडि चुनौतीहरू छन् । आफै भित्रका चुनौती र कमजोरी छन् । र बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दैनन् । सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिद्ध्याउने हिसाबले हमला गर्दैनन् । यस बिचमा हाम्रो मेलमिलाप हुनुपर्छ । एक हुनु पर्छ ।’