संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्नु हुन्न : महासचिव वैद्य
काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले नवउद्धारवादलाई आफ्नो आदर्श बनाएकाले नेपालमा विकास सम्भव नभएको बताएका छन् ।
पूर्व क्रान्तिकारी माओवादी, पूर्व नेकपा बहुमत र पूर्व क्रान्तिकारी कम्युनिस्ट लिग निकट तीन वटा ट्रेड युनियन महासंघबीचको एकता अधिवेशनमा उनले वर्तमान व्यवस्थाबाट जनता वाक्क भएको भन्दै नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्था, वर्तमान राज्य संस्थाको विकल्प खोजिनु पर्ने बताए ।
उनले भने, ‘यो सत्ता व्यवस्था नाङ्गिएको छ त्यस कारण संगठन बलियो बनाएर योजना वद्ध ढङ्गले जनसंघर्षमा लाग्नु पर्छ । नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्थाको, वर्तमान राज्य संस्थाको विकल्प हामीले दिनुपर्छ । जनता वाक्क भएको छ । यहाँ विकास रुपान्तरणको धेरै कुरा गर्छन्, तर नवउद्धारवादलाई आफ्नो आदर्श बनाएर नेपालमा विकास असम्भव छ ।’
उनले अहिलेको मुख्य चुनौती भनेको दलाल पुँजीवाद र देशको पुरानो व्यवस्थालाई बचाएर राख्ने साम्राज्यवाद र विस्तारवाद रहेको भन्दै त्यसको लागि दृढतापूर्वक लड्न आवश्यक भएको बताए ।
उनले संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्न नहुने बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेस संसदमा बसेका र सरकारमा बसेका सबै कम्युनिस्ट त्यो मात्रै होइन हिजोका राप्रपा पनि सबैलाई जोड्ने हो भने सबैले संसदीय व्यवस्था र संविधानको रक्षा गर्नुपर्छ भन्छन् एउटै त हो केही फरक छैन । पुरानो राज्य संस्था र व्यवस्थालाई यिनीहरूले जोगाएर राखेका छन्, त्यसलाई भत्काएर मास्कवाद, लेनिनवाद र माओवादका आधारमा जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादमा जानुपर्छ । हामीले स्थापना गर्ने अन्तिम लक्ष्य हो साम्यवाद, त्यसका लागि संघर्ष पर्नुपर्छ र त्यसमा मजदुर साथीहरूले महत्त्वपूर्ण भूमिका खेल्नु पर्छ ।’
उनले मजदुर संगठनलाई बलियो बनाउन र कम्युनिस्ट पार्टीलाई बलियो बनाउँनको लागि मजदुर शक्तिहरूलाई गोलबन्द गर्दै अगाडि बढ्नु पर्ने बताए ।
कम्युनिष्टहरुलाई क्रान्तिकारी बनाउँनको लागि पनि मजदुरको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ।