महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई
सिड्नी . फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । सिड्नीमा भएको फाइनलमा इंग्ल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको २६ औं मिनेटमा स्पेनले अग्रता लिएको थियो । ओल्जा कार्मोनाले गोल गर्दै स्पेनलाई १–० ले अघि बढाएकी थिइन् ।
६९ औं मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने मौका खेर फालेको थियो । जेनी हेरमोसोले पेनाल्टीमा गोल गर्न असफल भइन् ।
तर, १–० को त्यही अग्रता अन्तिमसम्म कायम राख्दै स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जित्न सफल भयो ।
स्पेन जारी विश्वकपको समूह चरणमा जापानसँग पराजित भएको थियो भने उत्कृष्ट लयमा रहेको इंग्ल्याण्ड अपराजित रहँदै फाइनल खेले पनि त्यो लयलाई कायम राख्न असफल भयो ।
महिला विश्वकपमा अहिलेसम्म अमेरिकाले सर्वाधिक ४ पटक जितेको छ भने जर्मनीले २ पटक जितेको छ । यसैगरी जापान र नर्वेले एक एक पटक उपाधि जितेका छन् । त्यही लिस्टमा स्पेन पनि परेको छ ।
















