तेस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन अक्टोबरमा काठमाडौंमा
पेन्सिलभेनिया,अमेरिका /गैर आवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो विश्व ज्ञान सम्मेलन अक्टोबर १७ र १८ तारिख काठमाडौंमा आयोजना गरिने भएको छ । सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट तीन सय भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने आयोजकको भनाई छ।
सम्मेलनमा दुई सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल हुने भर्चुअल माध्यमबाट शुक्रवार आयोजित पत्रकार सम्मेलनका संयोजक सह प्राध्यापक राजु अधिकारीले जानकारी दिए। अधिकारीले सम्मेलनको आवश्यक सबै तयारी पुरा हुने क्रममा रहेको बताए।
‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको यो सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार ,कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
पत्रकार सम्मेलनमा जनाइए अनुसार विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसरका बारेमा छलफल हुने छ।
यस्तै विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिनेछ।
सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरूलाई समेत सम्बोधन गर्ने अपेक्षा राखिएको छ। सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिनेछ । सम्मेलनमार्फत नेपालमा रहेका तथा गैरआवासीय नेपाली विशेषज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरु निकट सम्पर्क, सहकार्य, ज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान गरिने जनाइएको छ ।
सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको छ । सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५ २०८०) देखि कार्यपत्र आवहान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३( श्रावण ३० २०८०) बाट दर्ता सुरु गरिनेछ । सम्मेलनको अन्य जानकारी वेभसाइट (www.knowledge.nrna.org) बाट प्राप्त गर्न सकिने आयोजकको भनाई छ ।