राष्ट्रिय सभा अन्तर्गतका दुई समिति बस्दै
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू बिहीबार आजका लागि बोलाइएको छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद् सचिवालय सिंहदरबारमा बोलाइएको हो ।
दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सङ्कल्प प्रस्ताव कार्य योजना अनुगमन उपसमितिबाट पेस भएको कार्यान्वयन कार्य योजना, समितिको आर्थिक वर्ष २०८०र८१ को कार्य योजनाका विषयमा छलफल हुनेछ ।
त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । तर, त्यस बैठकको एजेन्डाका विषयमा संसद् सचिवालयले केही खुलाएको छैन ।
प्रमुख प्रतिपक्षी एमालेले सङ्घीय सांसदका दुवै सदन अवरोध जारी राखेका कारण आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक राखिएको छैन । बुधवारको बैठकमा पनि एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गरेको थियो । उसले दुवै सदनमा अवरोध जारी राखेपछि बैठक शुक्रवारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभा बैठक शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा ११ बजेका लागि बोलाइएको छ ।