एनआरएनए अमेरिका: प्रवक्ताको विषयमा अध्यक्ष डा. बन्जाडे दबाबमा, पहिलो बैठकमै भयो आलोचना
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको प्रवक्ताको विषयले नवनिर्वाचित अध्यक्ष डा. अर्जुन बन्जाडे दबाबमा परेको बताइएको छ।
स्रोतका अनुसार एनसीसी अमेरिकाको प्रवक्ताका लागि अहिले दुई जनाको चर्चा चलेको छ। जसका कारण बन्जाडेलाई पहिलो गाँसमा नै ढुङ्गा भने जस्तो भएको उनी निकटको भनाई छ।
उनी निकटका अनुसार बन्जाडेले आफ्ना पुराना सहयोगी डा.राजन पन्तलाई प्रवक्ताको जिम्मेवारी दिने योजना बनाएका थिए।
तर एनआरएनए आइसीसीका महासचिव गौरी जोशी समूहले सोफिन थापालाई जसरी पनि प्रवक्ता बनाउन दबाब दिएको बताइएको छ।
जोशी समूहले निर्वाचनमा बन्जाडेलाई सहयोग गरेका थिए। टेक्सास च्याप्टरका निवर्तमान अध्यक्ष थापा, आइसीसी महासचिव जोशीका खास मान्छे हुन्। स्रोतका अनुसार जोशीले सुरुमा बन्जाडे टिमको महासचिवमा थापालाई सिफारिस गरेका थिए। तर डा. बन्जाडेले गोपेन्द्र भट्टराईलाई ‘बचन’ दिएकाले थापा उम्मेदवार हुन नपाएको बताइएको छ।
सोही बेला जोशी सहित बन्जाडे टिमबाट वरिष्ठ उपाध्यक्ष जितेका विकास उप्रेतीले चुनाव अगाडि नै थापालाई प्रवक्ताको ‘टिका’ लगाइदिएको उनी निकटको भनाई छ।
जसका कारण थापा र पन्त मध्ये कसलाई प्रवक्ता बनाउने भनेर निर्णय गर्न अध्यक्ष बन्जाडेलाई गर्न कठिन भएको उनी निकटको भनाई छ।
‘अहिले नै निर्णय गर्दा टिममा ठुलो समस्या आउँछ भनेर पहिलो बैठकमा नाम पढ्न डा. सायवलाई गाह्रो भएको हामीले अनुभव गर्यौ।’ सिकागोमा सम्पन्न कार्यसमितिको पहिलो बैठकमा सहभागी एक पदाधिकारीले समाज टाइम्सलाई भने।
१२ औ साधारण सभा स्थल सिकागोमा पद तथा गोपनीयताको शपथ लिए पछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको थियो।
यस अगाडि सिकागोमा नै प्रवक्ताको विषयमा कुरा नमिल्दा तल्कालिन संस्थापन पक्षमा फुट आएको थियो। जानकारहरूका अनुसार तत्कालीन अध्यक्ष सुनिल साह र संस्थापन पक्षका नेता डा. यादव पण्डित बिचमा चिसोपनको सुरुवात प्रवक्ताकै कारण भएको जनाइन्छ।
पण्डितले सिफारिस गरे विपरीत साहले तत्कालीन समयमा ओम भट्टराईलाई प्रवक्ता बनाएका थिए।
‘पहिलो बैठकमै भयो आलोचना‘
आफ्नै नाराबाट विचलित भएको भन्दै एनआरएनए अमेरिकाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा नै अध्यक्ष डा. बन्जाडेको आलोचना भएको छ।
बन्जाडेको कार्यशैलीको आलोचना गर्नेमा उनकै टिमबाट चुनाव जितेका पदाधिकारी पनि रहेको बताइएको छ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार परिचयात्मक कार्यक्रम पछि बन्जाडेले संरक्षक परिषद्मा दुई जनाको नाम प्रस्ताव गरेका थिए। उनले यस अगाडिको कार्यसमितिका उपाध्यक्ष सुमन थापा र दीक्षा बस्नेतलाई संरक्षक परिषद्माको सदस्यका लागि प्रस्ताव राख्न साथ केही पदाधिकारीले पररर ताली बजाएका थिए।
त्यही बेला कोषाध्यक्ष सरोज सिग्देलले बुझ्दै नबुझी ताली बजाउने भनेर रोकेका थिए। ‘प्रस्ताव आउँदैमा पारित भयो भनेर ताली बजाउने छलफल गर्नु पर्दैन’ भन्दै सिग्देल जङ्गिएको बैठकमा सहभागी एक पदाधिकारीले समाज टाइम्सलाई बताए।
त्यस पछि युवा उपाध्यक्ष अनुप खनाल, बोर्ड सदस्य बिष्णु बराल र नवराज न्यौपाने पनि एकै पटक नाम ल्याएको भन्दै आपत्ति जनाएका थिए। खनाल, सिग्देल र न्यौपाने डिलु पराजुली टिममा रहेर चुनाव जितेका हुन्।
तर बन्जाडे टिमबाट नै चुनाव जितेका सचिव दीपक सापकोटाले पनि पुरानै ढङ्गमा बैठक चलाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए। यस्तै सहकोषाध्यक्ष दिवाकर पाण्डेले पनि परिवर्तन नारामा मात्र सिमित हुन नहुने बताएका थिए।
‘हामी परिवर्तनको नारा लगाएर आउने अनि पुरानै शैलीमा काम गर्ने बाहिर निर्णय गरेर हामीले तालि मात्र बजाउनु पर्ने भन्दै सापकोटाले आपत्ति जनाएका थिए।
बैठकमा बिरोधको स्वर बढ्दै गए पछि अध्यक्ष बन्जाडेले टेक ओभर गर्दै माफी मागेका थिए। उनले संरक्षकमा प्रस्ताव गरिएका व्यक्ति संस्थाका लागि हानी नहुने भन्दै एक पटकका लागि आफ्नो इज्जत जोगाइदिन आग्रह गरेका थिए।
यस अगाडि कुनै पनि निर्णय वा नियुक्तिका बारेमा बैठक अगाडि नै कार्यसमितिलाई जानकारी दिई छलफल गराउने बचन पनि अध्यक्ष बन्जाडेले गरेका थिए।
संरक्षक मनोनयनको पहिलो प्रस्तावमा नै आफ्नै पक्षबाट समेत विरोध भए पछि बन्जाडेले अन्य मनोनयनको प्रयास रोकेका थिए।
स्रोतका अनुसार बन्जाडेले डा. तारा सिग्देल, डा. सन्नु महतो सहित अर्को एक जनालाई सल्लाहकारमा नियुक्ति गर्ने तयारी गरेका थिए।
यसै बिच संस्थाको प्रमुख संरक्षकमा डा अम्बिका अधिकारीको मनोनयन हुने सम्भावना प्रबल रहेको जनाइएको छ।
एनआरएनएको विधानमा पूर्व अध्यक्ष मध्येबाट एक जनालाई प्रमुख संरक्षक मनोनयन गर्ने व्यवस्था छ।