कांग्रेस उपसभापति धनराज गुरुङ सहभागी भएनन् जनसम्पर्क समिति अमेरिकाको कार्यक्रममा
सिकागो, अमेरिका / कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको विदेश स्थित भ्रातृ संस्थाको एक कार्यक्रममा सहभागिता जनाउन इन्कार गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको १२ साधारण सभामा प्रमुख अतिथिकै हैसियतमा सहभागी हुन् मन्त्री एवं उपसभापति गुरुङ शनिवार अमेरिकाको सिकागो विमानस्थलमा उत्रिएका हुन्।
नेपाली कांग्रेसको विदेशस्थित भातृ संस्था नेपाली जन सम्पर्क समिति अमेरिका इलिनोइस च्याप्टरले एनआरएनएको साधारण सभामा सहभागीहरूको स्वागतमा भेटघाट कार्यक्रम राखेको थियो।
मन्त्री गुरुङ नेपालमा हुँदा नै सो कार्यक्रम विवादमा परेको थियो।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट समूहलाई बेवास्ता गर्दै अर्को समूहले कार्यक्रम राखेको भन्दै एक पक्षले आलोचना गरेका थिए। यसै गरी एनआरएनएको कार्यक्रममा आएको मन्त्री पार्टीको कार्यक्रममा जान नहुने भन्दै अर्को पक्षले विरोध गरेको थियो।
शनिवार ढिलो गरी सिकागो विमानस्थलमा अवतरण गरेका मन्त्री गुरुङले आफू एनआरएनएको कार्यक्रमका लागि आएकोले त्यो भन्दा पहिला अन्य कार्यक्रममा नजाने अडान राखेका थिए।
समाज टाइम्स सँगको कुराकानीमा पनि मन्त्री गुरुङले जनसम्पर्क समितिको कार्यक्रम बारे आफूलाई पूर्व जानकारी नभएको बताए।
‘मेरो सेड्युलमा जनसम्पर्क समितिको कार्यक्रम थिएन।’ मन्त्री गुरुङ्गले समाज टाइम्स सँग भने,’ म एनआरएनएको कार्यक्रममा आएको हुँ, यो कार्यक्रम भन्दा अगाडि अरू कार्यक्रममा जाने कुरा भएन, एनआरएनएको कार्यक्रम पछि पार्टीका साथीहरू सँग पनि भेटघाट गर्छु।’
मन्त्री गुरुङले आइतबार एनआरएनए अमेरिकाको १२ साधारण सभाको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
अन्य अतिथिहरू पनि आएनन्..
जनसम्पर्क समिति इलिनोइस च्याप्टरले तय गरेका अन्य अतिथिहरू पनि शनिवारको कार्यक्रममा देखिएनन्।
पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, जनसम्पर्क समिति अमेरिका पूर्व संयोजक बिष्णु सुवेदी, वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी र महासचिव मुनीन्द्र नेम्वाङ पनि कार्यक्रममा देखिएनन्।
हवाई उडान प्रभावित भएका कारण उनीहरू कार्यक्रममा उपस्थित हुन नसकिएको जनाएको थियो।
प्रमुख अतिथि र विशेष अतिथि अनुपस्थित भए पछि नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा. यादव पण्डितलाई स्वागत तथा भेटघाट कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो।
कार्यक्रममा एनआरएनए अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदी, प्रवासी नेपाली मञ्चको उपाध्यक्ष गोपाल कँडेल, एनआरएनए अमेरिका उपाध्यक्ष तथा हालै भएको निर्वाचनमा अध्यक्षमा पराजित डिलु पराजुली एनआरएनए अमेरिकाका संरक्षक विश्व बराल लगायतका सम्बोधन गरेका थिए।
बन्जाडे पनि गएनन्
गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष डा. अर्जुन बन्जाडे पनि जन सम्पर्क समिति अमेरिका इलिनोइस च्याप्टरको कार्यक्रममा उपस्थित भएनन्।
मन्त्री गुरुङको स्वागतका लागि भने उनी विमान स्थल सम्म पुगेका थिए। पार्टी उप सभापति समेत रहेका गुरुङ जनसम्पर्क समितिको कार्यक्रममा जाने नजाने भन्ने टुङ्गो लाग्नु अगाडि नै बन्जाडे होटल फर्किएका थिए।
बन्जाडे अनुपस्थित भए पनि उनको टिमबाट उपाध्यक्षमा चुनाव जितेका नेत्र पाण्डे, महासचिवमा चुनाव हारेका एनआरएन अमेरिकाका वर्तमान उपाध्यक्ष गोपेन्द्र भट्टराई भने कार्यक्रममा उपस्थित थिए।
यस्तै डिलु पराजुली टिममा उपाध्यक्षमा विजयी भानु खरेल र महासचिवमा विजयी रामहरि अधिकारी पनि कार्यक्रममा उपस्थित थिए।
एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित दुर्गा तिवारीले स्वागत मन्तव्य गरेको कार्यक्रम जन सम्पर्क समिति अमेरिका इलिनोइस च्याप्टर कार्यवाहक सभापति कृष्ण खनालको सभापतित्वमा भएको थियो।
जनसम्पर्क समितिका नेता तथा एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार लाल प्रसाद काफ्ले कार्यक्रम सञ्चालन गरेका थिए।