नीति अधिवेशनको साटो मंसिरमा महासमिति बैठक गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने भएको छ।
पार्टी कार्यालय, सानेपामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले, नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
‘नीति अधिवेशनको कुरा जुन हामीले महाधिवेशनमा समय अभावले, त्यसवेला सिधै अधिवेशनमा जानु पर्यो त्यतिबेला गर्न पाइएन , अहिले त्यही स्पिरिटलाई कायम राखेर महासमितिको बैठक मंसिर ११, १२ र १३ मा काठमाडौंमा गर्ने । त्यही समयमा तमाम कुराहरु छन् ती विषयमा छलफल गर्न गर्नका लागि महासमितिको बैठक बस्ने भनेर पनि यो बैठकले चै निणय गरेको छ । ’
महासमिति बैठक गर्न समेत ढिला भइसकेकाले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी महासमिति बैठक गर्ने गरिएको उनले जानकारी दिए ।
विचारको आधारमा एकरुपता निर्माण गरी देश व्यापि अभियान चलाउने समेत निर्णय भएको उनले बताए । त्यस्तै देशका तमाम समस्याको विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।
उनले भने ‘नागरिकता विधेयकले ठुलो संख्यामा नागरिकता नपाएकालाई नागरिकता पाउने गरी विधेयक आएको छ । मुल्यवृद्धी कम हुन थालेको छ । अर्थतन्त्र चलायमान हुन थालेको छ । सरकारले क्रियाशीलता बढाउनु पर्ने आवश्यकता छ । लम्पी स्किनबाट ठुलो संख्यामा पशुको नोक्सान भएको छ । आहात भएका किसानलाई राहत दिने विषयमा कुरा भएको छ । ’
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए।
कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ। यो बैठकपछि पार्टी थप बलियो भएर अघि बढ्ने प्रवक्ता महतले दाबी गरे । ‘यो निर्णयबाट पार्टी बलियो भएर अघि बढ्छ । सामाजिक संजालको दुरुपयोग पनि हट्न र व्यक्ति मात्रै होइन् पार्टी केन्द्रमा राखेर पार्टी अघि बढ्छ । यसले पार्टीलाई थप बलियो बनाउँछ ।’