विद्यालय खाजा कार्यक्रम प्रभावकारी : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका छन् ।
खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्यालय खाजा कार्यक्रममार्फत विद्यार्थीको स्तरमा सुधार आउँने भन्दै पछिल्लो ५ वर्षमा चार गुणा बजेट बढाएको बताए ।
उनले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको भन्दै सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीय स्तरसम्मको खाद्य प्रणालीका बारेमा छलफल चलाएको र सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना बनाएको जानकारी गराए ।
प्रधानमन्त्री दाहालले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तररूपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राख्दै खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी पनि गराए ।
प्रधानमन्त्री दाहालले तीन दिने भ्रमणका लागि शनिबार इटाली गएका थिए । यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल इटालीको राजधानी रोम पुगेका हुन् ।
भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुषाल, प्रधानमन्त्रीका छोरी गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।