मौन ब्रत राख्दैमा पार्टीको समस्या समाधान हुँदैन : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मौन ब्रत राख्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन् ।
सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय समितिको छैटौं दिनको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले बोल्न बन्द गरेर मौन ब्रत राख्दैमा पार्टीको सबै समस्या हल नहुँने भन्दै त्यसले दुर्घटनातिर लाने बताएका हुन् ।
उनले भने,बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । मलाई के लाग्छ सभापतिज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ ।’
अहिले गठबन्धको नेता नेपाली कांग्रस नै भएको दावी गर्दैउनले भने,‘प्रधानमन्त्री आउने जाने क्रम चल्छ । त्यसको नेता नेपाली कांग्रेस हो । हामीले बनाएको गठबन्धन हो । ईमान्दारीतापूर्वक हामीले सहभागीता जनाएका छौं । हाम्रा सर्तहरु छन् त्यो रहनु पर्छ।’
महामन्त्री थापाले पार्टी भित्र प्रजातान्त्रिक अभ्यास गर्दैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँदै संसदीय दलको नेता परिवर्तनको अधिकार पार्टीको विधान र संसदीय विधानले दिएको प्रष्ट पारे ।
उनले भने ‘मैले संसदीय दलको नेता हुने प्रयास गरे सकिन, त्यस्लाई मैले माने तर प्रयास नै गर्नुु हुँदैन भन्ने त होइनन् नि, त्यो प्रयास म अझै पनि गर्नेछु । ’
महामन्त्री थापाले गठबन्धनले गरेका कतिपय निर्णय भोलिपल्ट सञ्चार माध्यम हेरेर मात्र थाहा पाउँदा आफुलाई गठबन्धनको लिड गर्ने पार्टीको महामन्त्री हुँ भन्दा लज्जाबोध हुने गरेको बताए ।
उनले भने ‘ धेरै निर्णय थाहा नदिइ गरिन्छ, किन यस्तो, मैले आफ्नो धारणा विचार राख्थे हुँला, मेरै विचार सही हुनुपर्छ म भन्दिन तर गठबन्धनको निर्णयलाई स्वामित्व लिने अवसर त दिनु पर्यो नि । म एउटा गुटको भएकोले बरु मलाई केही थाहा हुन्छ तर कुनै पनि गुटमा नभएकोले अर्को महामन्त्रीलाई त त्यो पनि थाहा हुन्न । ’