सुन प्रकरणमा नाम जोडिएकोमा व्यवसायी मल्होत्राको आपत्ति
काठमाडौं । व्यवसायी दिपक मल्होत्राले, सुन तस्करीको विषयमा आफ्नो नाम जोडिनु आपत्तिजनक भएको बताएका छन् ।
बिहिबार पत्रकार सम्मेलन गर्दै, व्यवसायी मल्होत्राले सुन तस्कर प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने समाचार सत्य नभई कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग भएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले संचारमाध्यमको नामै तोकेर भनेका छन् ‘भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हो । समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउछु ।’
आफूले नेपालको प्रचलित कानून अनुसार नै व्यापार व्यवसाय संचालन गरेको भन्दै उनले आफ्ना परिवारको समेत मर्यादामा आँच आउने गरी समाचार प्रकाशित हुनु दुखद भएको बताएका छन् ।
‘म र मेरो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानून बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको छ । मैले गर्ने सबै कारोवारहरु संगठित संस्था मार्फत हुने भएकोले प्रचलित कानून वमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण मार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गर्दछ ।’ उनले भनेका छन् ‘म र मेरो परिवारले व्यक्तिगत रूपमा तथा प्रत्यक्ष एवं परोक्ष रूपमा अन्य व्यक्तिसंग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोवार गर्ने गरेको छैन । म र मेरो परिवारको कारोवार, आय सबै कानून बमोजिम अभिलेखबद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।’
सुन प्रकरणमा आफ्नो परिवार तथा नातेदारको कुनै पनि संलग्नता नरहेको उनको जिकिर छ । ‘उक्त वस्तु आयातमा म मेरो परिवारमा सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसंग सम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु ।’ उनले भनेका छन् ।
संचार माध्यममा उल्लेख गरिएका व्यक्तिसंग आफ्नो चिनजान समेत नरहेको दाबी उनले गरेका छन् । उनले गलत मनसायका साथ समाचार प्रकाशन गरेको प्रष्ट भएको जिकिर गरेका छन् । ‘अन्य कुनै पनि व्यक्तिसंग मेरो कारोबार र सम्बन्ध हुनु त परेको कुरा, चिनजानसमेत छैन । विदेशबाट पठाएको भनिएको वस्तु आयात गर्ने, उक्त वस्तु भन्सार जाँचपास गराउने वस्तु जिम्मा लिने कुनै पनि चरणमा मेरो संलग्नता छैन तर प्रकाशित समाचारमा स्रोतको हवाला दिँदै आफैँ कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन्, मेरो तस्वीरसमेत राखेर मेरो सार्वजनिक जीवनमाथि प्रहार गर्न खोजेका छन् ।’ उनले भनेका छन् ।
आफूसंग एक पटक सोध्ने समेत प्रयास नगरी कपोलकल्पित आरोप लगाइएको भन्दै मल्होत्राले सम्पर्क नभएको भन्ने कुरा सरासर गलत भएको दाबी गरे ।
उनले आफूले वषौंको लगानीबाट प्राप्त गरेको निष्ठालाई समाप्त पार्न खोज्नुले मर्माहत भएको भन्दै दुख व्यक्त गरेका छन् ।
उनले भनेका छन् ‘एक नागरिकले समाजमा वर्षौंको लगानी, निष्ठा, कर्तव्यपरायणता, कानूनको पालना लगायतका कृयाकलापद्वारा आफ्नो पहिचान र प्रतिष्ठा आर्जन गरेको हुन्छ । व्यक्तिको ख्याति एवं प्रतिष्ठा उसको सबै सम्पत्ति भन्दा महत्वपूर्ण आर्जन हो । व्यक्तिलाई समाजमा सम्मान र विश्वास निजको ख्याति एवं प्रतिष्ठाकोआधामा गरिन्छ । मैले धेरै लामो समयदेखि कानुनसम्मत व्यापार व्यवसाय गरी आफ्नो निष्ठापूर्ण व्यवसायीक पहिचान बनाएको छु । एक सामान्य नागरिक सरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक पहिचान प्रतिष्ठा र सम्मान रहेको छ । यस पृष्ठभूमिमा मलाई एक पटक पनि नबुझी समाचारमा उल्लेखित गैरकानूनी कृयाकलापमा मेरो तश्विर सहित संलग्नता रहेको भन्ने समाचारले मलाइ अनर्गल आरोप लगाउने मेरो स्वाभिमान र अन्तस्करणमा गंभीर चोट पुयाउने र मर्माहत गर्ने कार्य भएको छ ।’
विना आधार र प्रमाण छापिएको समाचारप्रति माफी मागेर खण्डन नगरे त्यस विरुद्ध कानूनी उपचारमा जाने उनको चेतावनी छ । ‘त्यसमा पनि व्यक्तिलाई गैरकानूनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिईनु व्यवसायिक मर्यादाको घोर उल्लंघन र निन्दनीय काय हो । म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार वा प्रकाशन गर्ने मिडियाले यसबारे माफी नमागेर खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने यहाँहरुलाई यही पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन चाहन्छु ।’ उनले भनेका छन् ।