अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा, शीर्ष नेताहरुसँग भेटघाट गर्ने
काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने भ्रमणका क्रममा नेपाल आएका छन् । पछिल्लो एक वर्षमा लु दोस्रो पटक काठमाडौं आएका हुन् ।
२०७८ भदौ ३० मा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त लु यस अघि २०७९ साउन १२ र १३ गते नेपालको दुईदिने भ्रमणका क्रममा काठमाडौं आएका थिए ।
यस पटक एकदिवसीय नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहालका साथै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्नेछन् ।
भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रभावकारी कार्यान्वयनमा लु ले शीर्ष नेताहरूसँग चासो राख्ने स्रोतको दाबी छ ।
लु आज काठमाडौं आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार मात्र सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हो ।