अमेरिका ओर्लिए लगतै एमाले महासचिव पोखरेलले भने : ‘राजनीतिक अस्थिरता र अराजकताले देश संकटमा’
राजु तिमिल्सिना
केन्टकी,अमेरिका/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र अराजकताले देश संकटमा रहेको बताएका छन्।
एमाले निकट प्रवासी नेपाली मञ्च अमेरिकाको साधरण सभालाई सम्बोधन गर्न अमेरिका आएका महासचिव पोखरेलले केन्टकी राज्यको लेक्जिन्टनमा शुक्रवार साँझ आयोजित अगुवा कार्यकर्ता भेटघाटमा देशको परिस्थिति कोट्याएका हुन्।
‘देश किन बनेन भनेर प्रश्न गर्दा सहज रुपमा देखिने उत्तर के हो भने नेपालले राजनैतिक स्थायित्व कहिल्यै पाउन सकेन्।’ महासिचव पोखरेलले भने ।
उनले हरेक प्रधानमन्त्रीले काम गर्न नपाएको बताए। ‘एउटा प्रधानमन्त्रीले औषतमा काम गर्ने समय कति हो भन्दा सभा बर्ष, ३३ वर्षमा २८ प्रधानमन्त्री बनाएका छौ अस्थिरता नै नेपालको राजनीतिको सबै भन्दा ठूलो चुनौति हो।’
महासचिव पोखरेलले पछिल्लो समय नेपालमा समाजिक अराजकतामा बढ्दै गएको र त्यो अर्को चुनौति भएको बताए।
उनले दलको नेतृत्व कमजोर हुदा सामाजिक अराजकता बढेको र त्यो देशका लागि चुनौति भएको जिकिर गरे।
यस्तै सांस्कृतिक मूल्यको विघटन भएको, विचलन तिब्रगतिमा अगाडि बढेको, धार्मिक अतिवाद बढेको, धर्मान्तरको नाममा चुनौति बनेको पनि बताए।
पोखरेल प्रवासी नेपाली मञ्चको साधरण सभामा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्न बिहिवार मात्र अमेरिका आएका हुन्।
मञ्चको साधरण सभा शनिवार हुदै छ। साधरण सभामा सहभागि हुन अमेरिकाभरका दुई सय भन्दा बढी केन्टकीमा भेला भएका छन्।
शनिवारको साधरण सभामा विभिन्न क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।