विजय बुढाको अध्यक्षतामा ओएनएफ ओहायो राज्य कमिटी गठन
कोलम्बस,ओहायो । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका अन्तर्गत ओहायो राज्य कमिटी गठन भएको छ ।
कोलम्बस सिटी गत आइतवार ओहायो राज्यमा बसोबास गर्ने ओएनएफ सम्बध्द नेपाली अगुवाहरूको भेलाले राज्य कमिटी गठन गरेको हो।नवगठित कमिटीको अध्यक्षमा विजय बुढा चयन भएका छन् । त्यसैगरि उपाध्यक्ष रोहित भण्डारी, सचिव लोक थापा, उपसचिव विजय थापा तथा सदस्यहरूमा दिपेन्द्र बस्नेत, भोजराज कोइराला, ऋषिराम कटेल, राजेश कार्की, सन्तोष बुढा, मनोज बुढा र ज्योति श्रेष्ठ रहेका छन् ।
प्रवासी नेपाली मञ्चका मिडवेस्ट क्षेत्र समन्वयकर्ता तथा केन्द्रीय कमिटी उपसचिव थोमस बास्तोलाको अध्यक्षतामा सम्पन्न भेलामा ओएनएफ केन्द्रीय कमिटी सचिव छबि पाण्डे, केन्द्रीय सदस्य शंकर लुंगेली, सामाजिक अगुवा प्रेमप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो । नवगठित कमिटीलाई प्रमुख अतिथि छबी पाण्डेले विधान बमोजिम सपथ ग्रहण गराएका थिए । भेलामा ओहायो राज्यको कोलम्बस र सिन्सिनाटीमा बसोबास गर्ने करिब २५ जना नेपालीहरूको उपस्थिति रहेको थियो ।
प्रवासी नेपाली मञ्च अमेरिकाको केन्द्रिय भेला केन्टकी राज्यको लेक्सिन्टन सिटीमा यही आउँदो शनिबार नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागिरहेको छ । त्यसको पूर्व सन्ध्यामा गठित कमिटीका पदाधिकारी तथा सदस्यहरू केन्टकीको केन्द्रीय भेलामा समेत सहभागी हुने बताइएको छ । ओएनएफको ओहायो राज्य कमिटी पहिलो पटक गठन भएको मिडवेस्ट समन्वयकर्ता थोमस बास्तोलाले बताएका छन् ।
नवगठित कमिटीले पहिलो सामाजिक कामको रूपमा एक क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गर्ने अध्यक्ष विजय बुढाले जानकारी दिएका छन् ।