एनआरएनए अमेरिका : सदस्यतामा दाउपेच, आरसी र डिआरसीकै नाम हटाइयो
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको सदस्यता सूचीबाट अमेरिकाज क्षेत्रीय संयोजक र उप संयोजक (आरसी र डिआरसी) कै नाम हटाइएको छ।
साधरण र आजीवन सदस्यको सूची अध्यावधिक गर्ने क्रममा आरसी प्रकास सापकोटा तथा डिआरसी पशुपति पाण्डे र पुरुषोत्तम बोहोराको नाम हटाइएको पाइएको छ।
‘लिष्टमा मेरो नाम देखिन्, पछि आइसीसी सँग बुझ्दा एनसीसीले नै हाम्रो नाम हटाएर पठाएको रहेछ।’ समाज टाइम्स सँग आरसी सापकोटाले भने।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले आफूहरुले अनुशाशनको कारवाही गरेकाहरुको नाम लिष्टबाट हटाएको बताए। ‘प्राविधिक त्रुटी होइन, बैठकको निर्णय कार्यन्वयन गरिएको हो।’
आरसी सापकोटाले भने एनआरएनए अमेरिकाले जालझेल र अनियमिता गरेको आरोप लगाए। ‘एनसीसीलाई यस्तो अधिकार नै छैन। यो झालझेल र अनियमिता हो, म साथिहरु सँग सल्लाह गर्दै छु। झालझेल गर्नेलाई कारवाही हुनु पर्छ।’
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले आरसी सापकोटाको आरोप अस्वीकार गरे।
‘यो त कार्यसमितिको बैठकको निर्णय कार्यन्वयन गरिएको मात्र हो।’ समाज टाइम्स सँग सुवेदीले भने, ‘एनआरएनए अमेरिका भङ्ग गरेको भ्रम फैलाएर संस्था विरोधी काम गरेको भन्दै बोर्ड बैठकले नै सात दिनको स्पष्टिकरण माग गर्दा जवाफ नदिएको हुदाँ सदस्यबाट हटाइएको हो।’
आरसी सापकोटाले संस्थापन पक्षले समाधान भइसकेको पुरानो कुरा उक्काएर व्यक्तिगत इगो राखिएको बताए।
‘आइसीसीको बैठकले अमेरिकाको विवाद समाधान गरि सक्यो, सिपी पौडेल अध्यक्ष रहेको समितिलाई एक कार्यकालको मान्यता दिने गरि अभिलेखमा राख्ने र त्यस अगाडि भएका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ। तर हारको मानसिकता भएकाहरु चुनाव भाड्न षड्यन्त्र गरिरहेका छन्।’ सापकोटाले भने । ‘यो व्यक्तिगत इगो हो।’
अध्यक्ष सुवेदीले सीपी पौडेल समितिलाई एक कार्यकालको मान्यता दिने निर्णय आफुहरुलाई जानकारीमा नरहेको बताए। ‘ए होर त्यस्तो भएको हो र ? केही समय हास्दै सुवदीले अगाडि भने, ‘त्यस्तो निर्णय तपाईलाई थाहा भएछ हामीलाई त केही जानकारी नै छैन।’
उनले तीन जनालाई साधरण सदस्यबाट हटाउने निर्णय उही समय आइसीसीलाई जानकारी गराएको तर अहिले सम्म आइसीसी मौन रहेको बताए।
‘हाम्रो निर्णय भएन भनेर आइसीसीले अहिले सम्म कुनै जवाफ दिएको छैन, हामीले आरसी र डिआरसीको अधिकार पनि सोधेका हौ।’ सुवेदीले भने। ‘आइसीसी गैर जिम्मेवार हुनु हुदैन।’
बैठकले निर्णय नै गरेको छैन, माइन्युट कीर्ते भयो
एनआरएनए अमेरिका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त र उपाध्यक्ष बिकास उप्रेतीले आरसी र डिआरसीलाई स्पस्टीकरण सोध्ने बारेमा बैठकमा छलफल भएको तर कुनै निर्णय नभएको बताए।
‘बैठकमा छलफल भएको हो तर कुनै निर्णय भएको होइन।’ पन्तले भने। उनले माइन्युटमा कीर्ते गरिएको दावी गरे। ‘त्यो बैठकको भिडियो हेर्दा पनि हुन्छ नी, शुरुमा हामीलाई पठाएको माइन्युटमा यस्तो कुरा नै थिए।’
उपाध्यक्ष उप्रेतिले पनि बरिष्ठ उपाध्यक्ष पन्तको भनाईमा सहमति जनाए। ‘एनसीसी अध्यक्षलाई आरसी र डिआरसीलाई कारवाही गर्ने अधिकार नै छैन, त्यसमा पनि टेक्सासमा कृष्ण लामिछाने सँगको सम्झौता हुँदा त्यस अगाडिका विवादका सबै विषय खारेज हुने भनिएको हो।’
कृष्ण लामिछाने सँग भएको सम्झौता हेर्न यहाँ क्लिक गर्नु होला
‘त्यो बेला सहमति भएर सेटल भएको कुरा अहिले किन निकालियो ? यो माइन्युट कीर्ते हो’ उप्रेतिले भने।
अध्यक्ष सुवेदीले बरिष्ठ उपाध्यक्ष पन्त र उपाध्यक्ष उप्रेतीको भनाई प्रति आश्चर्य व्यक्त गरे। ‘हाम्रो रहेक बैठकको निर्णय २४ घण्टा सम्म कुलिङ्ग पिरेडमा राख्छौ, बैठकको निर्णय अनुसार महासचिवले माइन्युट तयार गरेको हो होइन भनेर कार्य समितिका सबैलाई पठाइन्छ। त्यो बेलामा उहाँहरुले किन कुनै प्रतिक्रिया दिनु भएन ? जबकी हामीले वेवसाइडमा पनि माइन्युट राख्दै आएका छौ।’
सुवेदीले आफुहरुले कुनै कीर्ते काम नगरेको दावी गरे। ‘यो कार्यसमितिको बैठकले गरेको निर्णय हो, बैठक बाहेक अन्य निकायले यो निर्णय उल्टाउन सक्दैन।’
एनसीसी अमेरिकाको बैठकका माइन्युटका लागि यहाँ क्लिक गर्नु होला (कारवाही सम्वन्धी निर्णय क्रम संख्या पाँच अप्रिल २९ आठौ बैठकमा छ।)