बजेटमा राजश्वको दर वैज्ञानिकरुपमा प्रस्तावित गरेको अर्थमन्त्री महतको जवाफ
काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले राजश्वको दर वैज्ञानिकरुपमा प्रस्तावित गरेको बताएका छन् ।
आर्थिक बर्ष २०८०÷८१ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले बजेट हचुवको भरमा पेश नगरिएको जिकिर गरे ।
उनले भने ‘ अहिले जति पनि राजस्वको दर हामीले वैज्ञानिक रुपमा प्रस्तावित गरेका छौं। यसले हाम्रो राजस्व बढ्छ । खाली हचुवाको भरमा बजेट देखाउनको लागि प्रस्ताव गरेको हाईन् । हामीले विदेशी क्रृण पनि धेरै लक्ष्य राखेका छैनौं। आन्तरिक ऋण पनि पहिले लिएको भन्दा कमै राखेका छौं । आन्तरिक क्रृण भनेको सरकारले जति बढि लिन्छ निजी क्षेत्रले पाउने ऋणको भोलुम घट्छ ।
अर्थमन्त्री महतले कनिका छर्ने पुरानो चलनलाई आफुले बजेटमा नै स्वीकार गरेको बताएका छन् ।
उनले भने ‘‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्णरुपमा सम्बोधन गर्न सकेका छैनौं । केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौं भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीँ आइपुगे । त्यो प्रवृति रोकिएको छैन । यहाँकोले पुगेन, वडाअध्यक्षज्युहरु आइराख्नुभएको छ । मेरो वडामा यतिले पुग्दै पुगेन के हुन्छ र यहाँबाट राखिदिन प¥यो भनेर ।’
चाहे स्थानीय तहलाई होस चाहे प्रदेशहरुलाई दिन जुन विनियोजन भएको त्यो विनियोजन सुनिश्चित होस् र सानो सानो आयोजनामा खर्च वितरण गर्न नपरोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यसलाई पूर्णत सम्बोधन गर्न नसकेको उनको स्वीकारोक्ति छ ।
उनले मन्त्रीहरुले नै समेत साना आयोजनाहरुमा बजेट विनियोजनका लागि दबाव दिएको खुलासा पनि गरे ।