नागरिकता विहीनहरुको गुनासो : विदेशीले पाउँछन तर सच्चा नेपालीले नागरिकता पाउँदैनन्
काठमाडौं । राष्ट्रिय नागरिकताविहीन समितिको अध्यक्ष इन्द्रजित साफीले नेपालमा विदेशीले नागरिकता पाउन सजिलो तर वास्तविक नेपालीले पाउन गाह्रो भएको गुनासो गरेका छन् ।
नागरिकताविहीन संघर्ष समितिले सर्वोच्चको आदेश विरुद्ध बुधबार गरेको प्रदर्शनमा उनले कुनै नेपालीले विदेशीसँग विवाह गर्दा आजको भोलि नागरिकता पाउने व्यवस्था छ तर आफ्नै देशको नागरिकले नागरिकता नपाएको भन्दै आक्रोस व्यक्त गरे ।
उनले भने, मेरो बुबा आमाले नेपाली नागरिकता पाईसकेको छ, म नेपालमा जन्मे, नेपालमा पढे, नेपालमा हुर्के र मैले नेपालकै केटीसँग विवाह गरे भने पनि मैले नागरिकता पाउँदिन । यदि कुनै नेपालीले विदेशीसँग विवाह गर्यो भने आजको भोलि नै नागरिकता पाउछँ । अहिले पनि यो देशमा विदेशीले नागरिकता पाउन सजिलो छ तर वास्तविक नेपालीले पाउन गाह्रो छ ।
उनले राजनीतिले आफ्नै देशका जनताहरुलाई मारिरहेको भन्दै यहि कारणले देश अगाडि बढ्न नसकेको बताए ।
उनले भने, यो राजनीतिले आफ्नै देशका जनताहरुलाई मारिराछ । यो देश अगाडि नबढ्नुको प्रमुख कारण यही हो । जो व्यक्तिसँग सिप छ त्यो मान्छेहरुलाई चिन्न सकिरहेको छैन यो राजनीतिकर्मीहरुले । यो झुटो राजनीति हो जहिले पनि हाम्रो राष्ट्रियता माथि औला उठाउने काम गर्छन् । ’
यस्तै प्रदर्शनमा सहभागी कानूनका विद्यार्थी सुदिप कुमार साहले नागरिकताको कुरा आउँदा इन्डियासँग जोडिएको भन्दै इन्डियाले नागरिकता दिन तयार छ भने इन्डियामा पनि गएर बस्न तयार भएको बताए ।
उनले भने, खासमा नागरिकता भन्दैमा इन्डियासँग जोडिन्छ । यदि इन्डियाले पनि नागरिकता दिन तयार छ भने हामी इन्डियामा पनि गएर बस्न तयार छौं । जसको नागरिकता थिएन उसलाई गृहमन्त्री बनाईयो उसलाई कारबाही गर्ने कोही पनि छैन । यहाँ विधिको कानून हैन, राजनीति र पहुँचको कानून छ । ’