प्रचण्डलाई ओलीको व्यङ्यः पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुजापाठबाट अर्थतन्त्र सुधार नहुने भन्दै व्यङ्ग्य गरेका छन् ।
मंगलवार प्रतिनिभिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यङ्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनावद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए ।
उनले भने,‘यहाँ भएन भने इण्डिया गएर १०८ किलो चढाएर भएपनि भगवान छन् नि हाम्रा किन कोशीस गर्न पर्यो भन्ने छ । तर, त्यसरी अर्थतन्त्र सुदृढ हुँदैन्, संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ काँहीपनि भएको छैन् अर्थमन्त्री ज्यू ।’
अर्थतन्त्रको सुधारको लागि भारतसंग आस गरेको आरोप लगाउँदै उनले पूजापाठ गरेर भगवानलाई खुशी बनाएर नहुने तर्क गरे ।
योजनावद्ध प्रयासबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाई छ ।
५५ अर्व भनेको ठाउँमा कति आउँला ?
अध्यक्ष ओली सरकारले पेश गरेको गत बर्षको बजेटमा ५५ अर्ब आउने कुरा गर्दा ४ अर्ब आयो यसपटक पनि कति आउछ भन्दै प्रश्न गरे ।
उनले भने ‘ अर्थमन्त्री ज्युले यस पल्ट मजाले राख्नु भएको छ, ५० अरव ५ अरव आएको छैन् ५० अरवको फेरि लक्ष्य राख्नु भएको छ । यर्थाथमा साँचै कति आउला जस्तो लाग्छ । अहिले भन्न मिल्दैन होला पछि भन्नुहोला अर्थमन्त्री जी । साचैं चाही कति औला । पहिले पनि ५५ अर्व आउछ भनेर पोहोर यहि बोलेको हो नि आयो कति भन्दा ४ अरव । यो रोष्ट्रममा आएर जे भन्दिए पनि हुन्छ । चेवन भन्ने ,कृषि सुकेर सिठ्ठा जस्ता भएको थियो रे च्यवनप्रास खाएपछि बढे रे, के अर्थमन्त्री जीले गर्ने रिकभरि प्लानमा के च्यवनप्रास छ।’
बजेटमा रोगजारी सिर्जनाको कुनै योजना नै छैन
एमाले अध्यक्ष केपी शर्मा ओलीले, बेरोजगारी समस्या सम्बोधन गर्न सरकारले स्पष्ट कार्ययोजना ल्याउन नसकेको आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा उनले प्रत्येक वर्ष नेपाली श्रम बजारमा थपिने चारदेखि पाँच लाख सक्रिय श्रम शक्तिलाई रोजगारीको अवसर दिने योजनानै नल्याएको भन्दै त्यसतर्फ, अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले भने, ‘प्रत्येक वर्ष श्रम बजारमा थपिने चारलाख पचास हजार देखि पाँच लाख सम्मको सक्रिय श्रमशक्तिका लागि देश भित्र कुन क्षेत्रमा कसरी रोजगारी सृजना गर्ने बजेटले घोषणा गर्न सकेन् । रोजगारीका अवसरहरुको सृजना गर्ने प्लानिङ नै छैन।’
उनले अर्थमन्त्रीलाई आफ्नो सम्बोधनलाई नराम्रो नमान्न आग्रह गर्दै कुन क्षेत्रमा कति र कसरी रोजगारी सृजना गर्ने बजेटमा स्पस्ट उल्लेख गर्नुपर्ने र त्यो कुराहरुले नै बजेट अगाडी जान्छ कि पछाडि जान्छ भन्ने कुराको निर्धारण गर्ने समेत उल्लेख गरे ।
आफ्नो सरकार हुँदा ७ प्रतिशत आर्थिक बृद्धिको लागि सिद्धिएको उद्योग र विग्रिएको अर्थतन्त्र सुधार्न त्यहिबाट भिजन सहित संकल्प जगाएको तर यो सरकारले रोजगारी सृजनाको लागि स्पष्ट नगरेको ओलिले जिकिर गरे ।
अर्थमन्त्रीको माया लाग्छ तर भुतले खाजा खाने बेला पर्नु भो
ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको अनुहार हेर्दा माया लाग्ने गरेको तर उनी भुतले खाजा खाने बेलामा परेको भन्दै व्यङ्ग कसेका छन् प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले अघि सारेको आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आकांक्षा र अन्तर्राष्ट्रिय अवस्था हेर्दा बजेटले लिएको लक्ष्य पूरा हुन नसक्ने बताए ।
‘सबै कुरा रेकर्डेट छन्, हामी सत्य तथ्यमा आधारित भएर कुरा गर्न चाहन्छौं । यो राष्ट्रिय जनता र अन्तराष्ट्रिय समुदाय प्रतिको प्रतिवद्धता वा जिम्मेवारी पूरा गर्न नसक्ने यस बजेटलाई कसरी स्वीकार्ने ।’ ओलीले भने, ‘अर्थमन्त्री ज्युको अनुहार हेर्दा माया लाग्छ त उहाँ भुतले खाजा खाने बेलामा पर्नु भो । परिस्थिति यस्तो छ तपाईको मन सफा होला । अगि भन्दै हुनुहुन्थ्यो कति सफा छ भनेर ।’
अध्यक्ष ओलीले बजेटलाई नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताए । समृष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने उच्चदरको आर्थिक विकास हासिल गर्ने, व्यापकरूपमा रोजगारीको अवसर सिर्जना गर्ने, राष्ट्रिय वचतको वृद्धि गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, मूल्य नियन्त्रण गर्ने, चालू खाता घाटा घटाउने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन बजेटले नसकेको उनको तर्क छ ।
कर बढाउनुअघि विद्युतीय सवारी ल्याएको ओलीको संशय : व्यापारीहरु जुवाडे होइनन्
एमाले अध्यक्ष केपी शर्मा ओलीले इलेक्ट्रिक सवारीसाधनमा करको दर बढाएको र सोहि समयमा धेरै मात्रामा इलेक्ट्रिक सवारी ल्याउनु असामान्य भएको धारणा रखेका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा उनले अर्थमन्त्रीको जवाफप्रति नै संशय व्यक्त गरे ।
उनले भने, ‘ केही अनौठा घटनाहरु घटेका छन् । करका दर बढ्नेवाला छ,त्यसैबेला ११ सयजति गाडी आए,त्यहिचाँही आइटम जसमा कर बढ्छ । अनुमानका भरमा आयात गर्ने व्यापारीहरु जुवाडे होइनन्।’
परिवर्तित करको दरले भन्सारमा असर पार्ने बताएका उनले विद्युतीय सवारीसाधन संगै विभिन्न वस्तुमा यस्तो प्रवृति देखिएको भन्दै अर्थमन्त्रीले दिएको सफाइमा ‘बेनिफिट अफ् डाउट’ दिएर हेर्ने समेत बताए ।
उनले आम नागरिकले दैनिक जीवनमा प्रयोग गर्ने वस्तुमा करको दर बढाएको र संभ्रान्त वर्गले प्रयोग गर्ने वस्तुमा कर नबढेको प्रति आश्चर्य जनाउँदै असन्तुष्टि पोखे ।