प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भ्रमणका लागि छिमेकी मुलुक भारत पुगेका छन्
। दिउँसो १ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको नियमित उडानबाट गएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा त्यहाँकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।
प्रचण्डले विहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । उनी भारत भ्रमण पूरा गरेर २० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
काठमाडौंमा उनलाई उपप्रधानमन्त्रीहरू र मन्त्रीहरूले विदाई गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन प्रयत्न रहने बताउँदै आएका छन् । त्यस्तै, यो भ्रमणमा ब्यापार तथा पारवहन, ऊर्जा, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास लगायतका विविध विषयलाई प्राथमिकताका साथ उठाउने बताईएको छ । विशेषगरि गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुट परमिट, मल आयात र नेपाल–बंगलादेशबीच हुन लागेको उर्जा व्यापारका बिषय भ्रमणका क्रममा छलफल हुनेछन् ।
यस्तो छ भ्रमणको कार्यतालिका
प्रधानमन्त्री दाहाल दिउँसो करिब २ः५० बजे भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । ३ बजे उनी सरदार पटेल मार्गस्थित होटल मौर्य पुग्नेछन् । होटलमा उनले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई भेट्ने छन् । लगतै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई पनि भेट्ने छन् ।
बिहीवार उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् । त्यसपछि हैदरावाद हाउसमा फर्किनेछन् । उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीवार बिहान ११ बजे हैदरावाद हाउसमै भेटवार्ता हुनेछ । नेपाली भ्रमण टोली र भारतीय प्रतिनिधि मण्डलबीच हाउसमै भेटवार्ता हुनेछ ।
त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ । दिवा भोजमा सहभागि भएपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग ४ः३० र र उपराष्ट्रपति जगदीप धनखडसँग ४ः०० बजे भेटवार्ता गर्नेछन् ।
साँझ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)बीच शिखर सम्मेलन छ । सम्मेलनमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् । बेलुका प्रधानमन्त्री दाहाल भारतस्थित नेपाली दुतवासले आयोजना गरेको रात्री भोजमा सहभागि हुनेछन् ।
शुक्रवार प्रधानमन्त्री दाहाल भारत मध्यप्रदेशस्थित उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । शनिवार उनी ४ः२० बजे नेपाल एयरलाइन्स जहाजबाट स्वदेश फर्कनेछन् ।