लोकतन्त्र खतरामा परेको भन्दै प्रदर्शनमा उत्रिएका १७ अधिकारकर्मी गिरफ्तार
काठमाडौं । १६ औ गणतन्त्र दिवसको पूर्व सन्ध्यामा काठमाण्डौमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।
शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर भन्ने नाराका साथ आइतबार सिंहदरबारस्थित दक्षिण ढोका अगाडि धर्ना प्रदर्शनका उत्रिएका अधिकारकर्मीहरु गिरफ्तारमा परेका हुन् ।
लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शन सुरु हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रिता अधिकारीसहित १७ जनालाई गिरफतार गरेको हो । गिरफ्तार अधिकारकर्मीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।
शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणको सुक्ष्म अध्ययन/अनुसन्धान गरि दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि शुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना प्रदर्शन भइसकेको छ । समाजले यो प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको निन्दा गर्दै आएको छ ।