अमेरिकामा जारी युनिक ब्वाइज च्यालेञ्ज कप : सेमीफाइनल समिकरण पुरा, आयोजक टिम बाहिरियो
ह्यारिसबर्ग,पेन्सिलभेनिया/ सांग्रिला एफसी दोस्रो युनिक ब्वाइज च्यालेञ्ज कपको सेमीफाइनलमा पुगेको छ। यसैगरि भुटनीज युथ स्पोर्टस क्लब,खुदनाबारी युनाइटेड एफसी र पथरी एफसी पनि अन्तमि चारमा पुगेका छन्।
ह्यारिसबर्ग स्थित स्काइलाइन स्पोर्टस कम्पेक्समा शनिवार भएको अन्तिम क्वाटरफाइनलमा सांग्रिलाले आयोजक युनिक ब्वाइज क्लब ‘बी’ टिमलाई एक शुन्य गोल अन्तरले हरायो।
पहिलो हाफमा मनोज चुहानले गरेको गोल नै सांग्रिला उपाधिको दावेदारी कायमै राख्न प्रयाप्त बन्यो। त्यसो त नौ खेलाडीमा खेल टुङ्गाएको युनिक ब्वाइजका रोशन मगरले पेनाल्टी चुकाउदा पनि सांग्रिलालाई सहज भएको थियो।
दोस्रो हाफमाको अन्तिममा युनिकका मञ्जील उदासी र आषिश मोक्तान दोहोरो पहेलो कार्ड बेहोर्दै मैदान छोड्न बाध्य भएका थिए।
सांग्रिलाले अब फाइनलमा पुग्नका लागि आइतवार भुटनीज युथ स्पोर्टस क्लब (बीवाईएससी) को चुनौति पन्छाउनु पर्ने छ।
नेपाल भ्रमणका क्रममा पोखरामा भएको आहा रारा गोल्डको उपविजेताको अनुभवी टिम बीवाईएससीले शनिवार नै भएको अर्को क्वाटरफाइनलमा माचो एफसीलाई तिन शुन्यले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो।
बीवाईएससीको जितमा सुनिल संग्रौला,सजित तामाङ्ग र सत्यम तामाङ्गले एक एक गोल गरेका थिए।
यसै गरि शनिवार नै भएको अर्को क्वाटरफाइनलमा खुदुनाबारी युनाइटेडले नर्थ क्यारोलिना रोयल एफसीलाई सडेनडेथमा हरायो।
रोयल एफसीले एक शुन्यको अग्रता जोगाउन सकेन। पहिलो हाफको शुरुमा नै कप्तान होम दाहालले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा भेष शेर्पाले गोल फर्काउदै खेल बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित समयमा दुबै टिमबाट थप गोल नहुदा खेल ट्राइब्रेरमा हुदै सडेनडेथमा पुगेको थियो। अब खुदुनाबारीले आइतवार नै हुने सेमीफाइनलमा पथरी एफसीसँग खेल्ने छ।
शनिवार नै भएको क्वाटरफाइनलमा पथरीले बेलडाँगी युथ क्लबलाई ट्राइब्रेकरमा ४-३ गोलले हरायो। निर्धारित समयको खेल एक एक गोलको बराबरीमा टुङ्गिए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो।
बेलडाँगीले एक शुन्यको अग्रता खेरपठाएको थियो। शुक प्रधानले पहिलो हाफमा बेलडाँगीलाई अग्रता दिएका थिए। तर पथरीका निमा तामाङ्गले गोल फर्काउदै खेल बराबरीमा ल्याएका थिए।
प्रतियोगिताको दुबै सेमीफाइनल र फाइनल आइतवार हुने छ। युनिक ब्वाइज क्लब र एशियन रेफ्युजी युनाइटेडले गत वर्ष देखि युनीक ब्वाइज च्यालेञ्ज कपको शुरुवात गरेका हुन्।
शुक्रवार देखि शुरु भएको यस पटकको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यबाट गरि १९ टिमले भाग लिएका छन्।
कप जित्नेले ट्रफी र मेडल सहित दश हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छन्। उप विजेताको भागमा ६ हजार डलर रहने छ।