संसदको अवरोध हट्यो
काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीलाई लिएर भएको संसद अवरोध हटाउने निर्णय भएको छ । सिंहदरबारमा आज(शनिवार) बिहान बसेको प्रमुख तीन दलबीच भएको बैठकले शुक्रवारदेखि अवरुद्ध संसद सञ्चालन गर्ने निर्णय गरेको हो ।
जलहरी राख्ने क्रममा भएको भ्रष्टचारमा तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केही शर्मा ओलीको संलग्नता नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा संवोधन गर्ने बिषयमा सहमति जुटेपछि शुक्रवारबाट अवरुद्ध संसद सुचारु हुन भएको हो । साथै, जलहरीमा भएको भ्रष्टचारलाई लिएर एमाले अध्यक्ष ओली लक्षीत अभिव्यक्ति पनि संसदको रेकर्डबाट हटाउने निर्णय भएको छ ।
बैठकपछि पत्रकारको संवादमा एमाले प्रमुख सचेतक पदम गिरीले शुक्रवारदेखि अवरुद्ध संसद सुचारु गर्ने निर्णय भएको बताए । उनले भने,‘पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टचार भएको बिषय संसदमा उठ्यो । यसमा केपी शर्मा ओलीलाई मुछियो । यो सरासर गलत हो । यही बिषयमा आज तीन दलका शिर्ष नेताबीच बैठक बस्यो । जलहरी भ्रष्टचारमा ओली संलग्न नभएको भन्दै प्रधानमन्त्री दाहालले संसदमा संबोधन गर्ने सहमति भयो । र, ओली लक्षीत अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने निर्णय भयो । त्यसो हुँदा अब संसद सुचारु हुनेछ ।’
बैठकमा प्रधानमन्त्री दाहालसहित काँग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका एमाले अध्यक्ष ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी थिए ।
पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भएको भ्रष्टचारलाई लिएर शुक्रवार माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा बिषय उठान गरेका थिए । यसक्रममा उनले जलहरी भ्रष्टचारमा एमाले अध्यक्ष ओली संलग्न रहेको अभिव्यक्ति दिएका थिए । सोही बिषयको विरोध गर्दै शुक्रवार एमालेले संसद अवरुद्ध गरेको थियो । माओवादीले माफी नमागेसम्म संसद अवरोध हुने भएपछि प्रधानमन्त्री दाहालले शनिवार बिहान प्रमुख तीनको बैठक डाकेका थिए ।