निश्चलको ‘दिमाग खराब’को उत्तरअमेरिकाको वितरक ई-पिक र एभरेष्ट
पेन्सिलभेनिया,अमेरिका/ नेपालमा यसै साता देखि मात्र छायांकनमा शुरु भएको निश्चल बस्नेतको ‘दिमाग खराब’चलचित्रको उत्तर अमेरिकामा वितरकको अधिकार ई-पिक र एभरेष्ट इन्टरटेन्टमेन्टले संयुक्त रुपमा लिएका छन्।
काठमाडौं बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरिएको दिमाग खराबको सोमवार मात्र काभ्रेबाट छायांकन शुरु गरिएको छ। निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘दिमाग खराब’ कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने लक्ष्य राखिएको छ।
निश्चल नेपाली चलचित्रमा शैली बदल्ने निर्देशकका रुपमा चिनिन्छन। ‘लुट’ मार्फत उनले नेपाली चलचित्रको परम्परागत ट्रेनमा परिवर्तन गराएका थिए। त्यस पछ उनले लुट २ पनि ल्याएका थिए। निश्चल ६ वर्ष पछि निर्देशनमा फर्किएका हुन्। २०७४ सालमा रिलिज भएको ‘लुट २’पछि निर्देशनमा निश्चलको यो पुनरागमन हो ।
जनता र शक्तिको कथामा बन्ने दिमाग खराबमा आकाश बरालको पटकथा लेखन रहेको छ। कलाकारमा खगेन्द्र लामिछाने,दयाहाङ राई,अर्पण थापा,स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिका छन् ।
ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने दिमाग खराबमा निमेष श्रेष्ठको सम्पादन रहनेछ। यस्तै सुसन प्रजापति छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । दिमाग खराबको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।
दिमाग खराबको अन्तर्राष्ट्रिय प्रसारण अधिकार एमएसएले पाएको छ। अमेरिकाका र क्यानडाका लागि भने ई-पिक र एभरेष्ट इन्टरटेन्टमेन्टले संयुक्त रुपमा लिएका हुन्।
‘हामीले अहिले सम्मकै सर्वाधिक मूल्यमा दिमाग खराबको अमेरिका र क्यानडाका लागि वितरणको अधिकार लियौ’ ई-पिकका अभिजित राईले समाज टाइम्स सँग भने। उनले मूल्य भने खुलाउन चाहेनन्।
अमेरिका र क्यानडामा नेपाली चलचित्रको बजार बिस्तार हुदै गएको छ।,पछिल्ला केही चलचित्रले राम्रो व्यापार पनि गरेका छन्। चलचित्र छक्का पञ्चा ४,जारीले मगन्य आम्दानी गरे पछि नेपाली चलचित्रको प्रशारण अधिकार छिटो लिने क्रम पनि बढेको छ।
दिमाग खराबको अमेरिका र क्यानडामा प्रदर्शनीका लागि अभिजित राई 7036783317,रमेश भट्ट 4103189693 र अपार श्रेष्ठ 4434184344 लाई सम्पर्क गर्न सकिने जनाइएको छ।