सरकारी खर्चमा मितव्ययिता अपनाई फजुल खर्च नियन्त्रणमा : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी खर्चमा मितव्ययिता कायम गरि फजुल खर्चको नियन्त्रणको कार्य भईरहेको बताएका छन् ।
प्रधानमन्त्री भएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं उनले सरकारले राजस्व प्रशासनलाई थप सुदृढ र सुस्त बनाएको बताए । उनले सरकारले राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट, राष्ट्रिय पुँजी पलायन र अवैध कारोवारलाई कडाईकासाथ नियन्त्रण गर्ने नीति लिएको बताए ।
उनले भने ‘सरकारी खर्चमा मितव्ययिता कायम गरी फजुल खर्चको नियन्त्रण गरिएको छ । सरकारले राजस्व प्रसाशनलाई थप सुदृढ र सुस्त बनाउँदै राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट राष्ट्रिय पुँजी पलायन अवैध कारोवारलाई कडाईका साथ नियन्त्रण गर्ने नीति सरकारले लिएको छ, विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने नीति सरकारले लिएको छ ’
नेकपा एमालेको सांसद पदम गरीले प्रदेश र स्थानीय तहले पाउँने समानीकरण अनुदानमा ५० प्रतिशत कटौंति भएको छ । यस्तो परिस्थितिमा राज्यको अनिवार्य दायित्व कसरी पूरा गर्नुहुन्छ ? सरकारको आर्थिक मन्दीको सामना गर्ने योजना के छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न वित्तीय मौद्रिक र क्षेत्रगत नीति तथा कार्यक्रमहरुमा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशील रहेको बताए ।
उनले भने ‘तरलताको संकुचन हुनुको साथै घट्दो दरमा राजस्व परिचालन भएको र पुँजीगत खर्चमा सुधार हुन नसकेको अवस्था छ । अर्थतन्त्रका चुनौती सम्बोधन गर्न वित्तीय मौद्रिक र क्षेत्रगत नीति तथा कार्यक्रमहरुमा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशील रहेको छ, विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु सरकारको प्राथमिकतामा रहेका छन् ।’