रेशम चौधरीमाथिको जन्मकैदको फैसला सदर विरुद्ध नागरिक उन्मुक्ति पार्टी आन्दोलित
काठमाडौं । नागरिक उन्मुक्ति नेपालले रेशम चौधरीमाथिको जन्मकैदको फैसला सदर गर्ने सर्वोच्चको निर्णयको विरोध गरेको छ ।
मंगलबार साँझ सो पार्टीका नेताहरुले माइतीघरमा जम्मा भएर सो फैसलाको विरोध गरेका हुन् ।
सो पार्टीका नेता एलिजा गौतमले, सो फैसला खारेजीको माग गरिन् ।
रेशम चौधरी रिहा नभएसम्म आफूहरुले आन्दोलन नरोक्ने उनको भनाई छ ।
भोलीदेखि आन्दोलनका थप कार्यक्रम गर्ने सो पार्टीले जनाएको छ ।
मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गरेको हो ।
जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
यस मुद्दामा जोडिएका गंगाराम चौधरी र सीताराम चौधरीलाई भने सर्वोच्चले सफाइ दिएको छ । लक्ष्मण थारूको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ । उच्च अदालतले थारूलाई पाँच वर्षको सजाय तोकेको थियो ।
२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए । सोही घटनाका आरोपित चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।