आइओएफटीसीको १४ औं संस्करण दक्षिण कोरियामा
काठमाडौं / इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको (आइओएफटीसी) १४ औँ संस्करण दक्षिण कोरियामा हुने भएको छ।
काठमाडौंमा एक पत्रकार सम्मेलन मार्फत आयोजकले १४ औं संस्करणको भेनुको औपचारिक घोषणा गरेको हो।
१४ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपका संयोजक राजु क्षेत्रीले सन् २०२४ मा च्याम्पिनसिप दक्षिण कोरियामा हुने जानकारी दिए।
पत्रकार सम्मेलनमा प्रेसित प्रेस विज्ञप्ति
सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस पत्रकार सम्मेलनमा उपस्थित हुनुभएकोमा सम्पूर्ण सञ्चारकर्मी साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको सोलमा सन् २०२४ मा हुने १४ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को विषयमा तपाईहरुलाई जानकारी दिलाउन यहाँ उपस्थित भएको छु । आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । १४ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी सोललाई दिएकोमा आइओएफटिसीलाई धन्यवाद दिँदै खुशी पनि व्यक्त गर्न चाहन्छु । यस प्रतियोगितामा मसँगै ग्रान्डमास्टर डा. लि पनि कार्यक्रम संयोजकको भूमिकामा रहनुहुनेछ ।
गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल शहरलाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गर्नुभएको हो ।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको जानकारी गराउन चाहन्छु ।
दक्षिण कोरियाको सोलमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको १४ औँ संस्करणको आयोजना हुन लागेको जानकारी दिँदा मलाई अपार खुशीको अनुभव भइरहेको छ । दक्षिण कोरियामा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप सञ्चालन हुन लागेको हो । दुई वर्षअघि मिचिगनमा सफलतापूर्वक आइओएफटिसी समपन्न भइसकेको यहाँहरुलाई जानकारी नै छ । दक्षिण कोरियाको सोलमा हुने १४ औँ संस्करण अझ भव्य बनाउने लक्ष्य हामीले लिएका छौँ ।
यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया,अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिकोलगायतका राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा करीब सात सयभन्दा बढी खेलाडीले भाग लिने अपेक्षा गरेका छौँ । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरेका छौँ ।
प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।
अन्तमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थिति हुनुहुने सम्पूर्ण सञ्चारकर्मी साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ ।
मिति २०७९।०१।२८
राजु क्षेत्री
संयोजक (१४ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप)
पूर्व अध्यक्ष एनआरएन दक्षिण कोरिया, अन्तर्राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री