नक्कली भुटानी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छः विद्यार्थी नेताहरू
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् । बिहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरू सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन गर्ने बताए ।
प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यबाद दिदैँ, दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष बडालले यो प्रकरण मात्रै नभएर भ्रष्टाचार लगायत अन्य विभिन्न प्रकरणका फाइलहरू खोल्नु पर्ने बताउँदै भने, “प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।” एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउन खोजेको र आफ्नो सङ्गठनले केही नबोलेको भन्ने आरोप सरासर झुटो भएको बताए । आफ्नो माउपार्टी पनि भ्रष्टाचार विरोधी भएकोले दोषी जोसुकैलाई पनि सरकारले तान्ने र कारवाही गर्नसक्ने बताउँदै भने, “टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ? किन भाग्नुभयो, पुलिससँग आत्मसमर्पण गर्नुस्, निर्दोष सावित हुनुस्, हैन भने अनेरास्ववियुले खोज्न नपरोस् ।”
सत्तारुढ नेकपा ( माओवादी केन्द्र ) निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति गौरवान्वित भएको बताइन । अघिल्ला सरकारमा रहेकाहरूले यस्ता सयौँ काण्डहरूलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरू तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताइन् । “दिनदहाडै सुनलाई पित्तल बनाउने प्रचलनलाई क्रमभंग गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई यही मञ्चबाट सलाम, तर देशीविदेशी दबाब सामु झुक्नु भयो भने माओवादी विरासत सकिने छ ।”
नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत इन्ट्रेस र दबाबमा नपरी अगाडि बढ्नु पर्ने धारणा राखे । आफूहरू सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटा अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनैपनि हालतमा सरकारले खुट्टा कमनाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अध्यक्ष गजुरेलले यस प्रकरणलाई टुङ्गोमा पुर्याएर भ्रष्टाचारका अरु फाइल पनि खोल्नु पर्ने धारणा राखे ।
अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागत योग्य भएको र यो प्रकरण सफल भए प्रचण्ड जनयुद्ध हाँक्न सफल भएजस्तै वर्तमान सत्ता पनि हाँक्न सफल हुने बताए । जनपक्षिय काममा आफू र आफ्नो संगठनको साथ रहने तर नराम्रा काममा खबर्दारी रहने धारणा राखे ।