बाँदरको ब्यावहार र व्यापार
काठमाडौं / विनासबाट बचाउँन अर्को विनाश । बिड्म्वना ! बाँदरलाई चक्चके र छुच्चो भन्ने मानिस आफै त्यो भन्दा पनि हिंस्रक हालतमा उत्रिएका छन् । हरेक डिसेम्बर महिनामा विश्व पशुअधिकार दिवस मनाइन्छ । मनाउने चाँही पशु नभएर मानिसहरु नै हुन्छन् ।
मानिसहरुले पशुको संरक्षणका लागि गरेको यो पहल पशुको लागि मात्र नभएर अन्ततः मानिसहरु कै लागि हो, यसै भन्छन् संरक्षणवादीहरु । वातावरण, प्रकृति र जीव जन्तुको संरक्षण गर्नेहरु । आफु र आफ्नो पारिस्थितिक अवस्थाको सन्तुलन कायम राख्न पनि प्रकृतिको बचाउ गर्नु पर्नेमा उनीहरु जोड छ ।
बाँदरलाई चक्चके र छुच्चो जीवको रुपमा चिनिन्छ । तर मानिस त्यो भन्दा पनि छुच्चो र चक्चके वा अझ भनौं हिंस्रक भैदियो भने के होला ? हामी मध्ये कसैलाई लाग्न सक्छ, मासिएर सकिन्छ । डराएर भाग्छ वा यसको वंश नै नाश हुन्छ । तर होइन रहेछ संरक्षणविद् भन्छन् यो झन छुच्चो, उदण्ड र हिंस्रक बन्दो रहेछ ।
शहरी क्षेत्रमा मन्दिरको आसपास र ग्रामीण क्षेत्रमा बालीनालीको समयमा बाँदरको प्रकोप बढ्दै गएको छ । पहिले पहिेले बाँदरबाट बाली जोगाउँनु सामान्य समस्या भए पनि अब यो समस्या सामान्य भन्दा बढी भैसकेको छ । कारण हो हिंसात्मक र आक्रामक हुँदै गएको बाँदरको स्वाभाव । उनीहरु सामूहिक रुपमा नै मानिसहरु माथि आक्रमण गर्ने भएका छन् ।
एक्लै दुक्लै देखे बडो सताउँछन् । धेरै जना छन् र, उनीहरुको पनि ठूलो बथान भए योजना बनाएर अमाक्रमण गर्न पनि पछि पर्दैनन् । परिणमतः वर्षेनी बाँदरको आक्रमणबाट मानिसहरु मारिएको समाचार आउन थालेका छन् । आक्रमणबाट घाइते भएकाहरु त समाचार नै बन्दैनन । आक्रमणमा पर्नेहरु घाउ चोटसँगै रोग लिएर बाँचेका हुन्छन् । कहिले मर्छन् पत्तै हुँदैन ।
खास गरी शहरी क्षेत्रमा मन्दिर आसपास र ग्रामीण क्षेत्रमा बाली नालीको समयमा बाँदर आक्रमण बढ्ने गरेको देखिन्छ । बाँदरमाथि आक्रमण गर्नेहरु बेला कुबेला एक्लै दुक्लै भएको बेला बाँदरकै शिकार भएको त थाहा पाएका छौ । तर एउटा शहरको सिंगो मानव वस्तीलाई नै बादरले पिजडामा पारेको चाही तपाइँ हामी मध्ये कमैलाई थाहा होला । छिमेकी मुलुक भारतको जोधपुर शहरका वासिन्दाहरु अरु केही नभई मात्र बाँदरको कारण पिंजडामा बस्न बाध्य भएका छन् । यस कार्यलाई संरक्षणवादीहरु बाँदरको बासस्थान बन जंगल नाश गरिदिए पछि बाँदरले लिएको बदलाको भाव भनी विश्लेषण गर्छन् ।
बाँदर बन्यो चुनावी एजेण्डा
चुनावको समयमा मतदाताको अपेक्षा के होला ? अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा स्तर उन्नति गर्ने हुन्छन् ।
तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई फरक माग सुनाएका थिए । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारलाई एक स्वरमा भनेका थिए, ‘यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई हो ।’
ग्रामीण क्षेत्रमा सडक, शिक्षालगायत पूर्वाधार राम्रो बन्दै गएका छन् तर जनता भने बाँदरकै कारण उठिबास लाग्न थालेका छन् । उर्वर भूमि रहेको आफ्नो थाकथलो बाँझै छोडेर । बाँदरकै कारण बसाइँसराइ सरे ।
बागलुङ-१ गल्कोट क्षेत्रका नेता डिल्लीराम सुवेदीले उपायको खोजीका लागि आविस्कार केन्द्रको सम्पर्कमा रहेको बताए ।
अत्यधिक बाँदर लाग्ने स्थानमा अदुवा, बेसार, कागतीलगायत नगदेबाली लगाए पनि नष्ट गर्ने गरेको छ । बाँदर नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्नु पर्ने सुवेदीको बुझाइ छ ।
कानुनअनुसार बाँदरको हत्या गर्न पाइँदैन, धपाएका बाँदर पुनः फर्केर आउने समस्या पुरानै हो । बाँदरलाई हत्या गर्न नपाइने भएकाले बाँदर नियन्त्रण गर्न समस्या भएको एकाथरीको बुझाइ छ । तर पनि केही समुदायले दुख दिनेलाई मासुका लागि प्रयोग गरेको पाइन्छ ।
केही वर्षअघि बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाएको भए पनि प्रभावकारी हुन सकेन । बाँदर नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर बाँदर धपाउने यन्त्र वितरण गर्यो तर प्रभावकारी हुन नसकेको किसानको गुनासो छ ।
बाँदरसँग पीडा र प्रेमको सम्वन्ध
बाँदर र मानसिको सम्बन्ध २ किसिमको छ । पहिलो पक्ष बाँदर मान्छेसँग नजिक भएकाले मित्रतापूर्ण छिमेकी र सहयोगीको जस्तो । अथवा एउटै बंश जस्तो। अर्को पक्ष मान्छे जस्तै तर चकचके भनेर वर्णन गरेको अवस्था छ । बाँदरविद् डा. मुकेश चालिसे यसलाई मानिस भन्दा चलाख मान्छन् ।
बाँदर शब्द सुन्न साथ अस्थिर, चञ्चल, उग्र, अधैर्य को रुपमा प्रयोग गरिएको हुन्छ । व्याहारिक जीवनमा बाँदर शब्दको प्रयोग अराजक, उश्रृङ्खल अर्थमा गरिन्छ ।
बाँदरले उपयुक्त बासस्थान जंगल भन्दा पनि मध्यवर्ती क्षेत्र र मानव समुदायको वरीपरी रोज्दछ । ‘बाँदर घनघोर जंगलमा हिंस्रक जनावरको त्रासले पनि मानव समुदाय नजिक बस्छ ।
बाँदर पौराणिक इतिहास रामायण युद्धमा पनि मान्छेको साथी र सहयोगी नै हो तर अहिले यो जनावर चुनौति भएको छ ।
श्रीलंकाली शैलीः दुर्ब्यावहार होइन व्यापार
श्रीलंकामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ । तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन् । गाउँहरूमा आक्रमण गरी विध्वंश मच्चाउछन् । कहिलेकाहीं मानिसलाई समेत आक्रमण गर्छन् । बाँदरले कृषिबालीलाई क्षति पुर्याउने र यिनीहरूको संख्या अत्यधिक भएका कारण नियन्त्रण गर्ने निर्णय श्रीलंकाले लिएको छ ।
त्यस कारण पनि यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ ।
श्रीलंकाको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै यसको विरोध गरेको छ । ४० वर्षभन्दा बढी समयदेखि बाँदर (मकाक) को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसंख्या अध्ययन गर्नुपर्ने फाउन्डेसनको भनाइ रहेको छ ।
कृषिमन्त्री महिन्दा अमरवीराले भने बादरलाई भन्दा किसानलाई जोगाउनु पर्ने भएको जनाएका छन । यसै सन्दर्भमा उनीहरूले चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर बेच्ने जनाएका हुन् ।
लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले संकटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ ।
श्रीलंकाले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको यो एसियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ । बिक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिनेभन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन ।
बाँदर समाउन र लैजान गरी प्रति बाँदर पचास हजार बराबर लगानी गरेको खबरहरुमा जनाएको छ । चीनियाँ समूहले प्रत्येक बाँदरबाट एकलाखको फाइदा लिने अनुमान गरिएको छ ।
फाउन्डेसनका जगत गुणवर्धनाले मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि चिनियाँहरुको चासो भएको अनुमान गरेका छन् ।