विदेशी इन्जिनियरको नेपाली अनुभव
काठमाडौं/ नेपाली इन्जिनियर विदेशमा जान आतुर देखिन्छन् । तर नर्वेका एक इन्जिनियरले नेपालको भौतिक निर्माणमा लामो समय खर्चिएका छन् ।
मानव विकासको उच्चतम् बिन्दुमा पुगेको नर्वेका यी नागरिकलाई नेपालको पनि कर्णाली क्षेत्रमा दशकौ बिताउँदाका अनुभव अनौठा छन् । एड्रियन भन्छन् “नौ वर्ष रमाइलोसँग विताएँ।” कर्णाली प्राविधिक शिक्षालय जुम्लामा लामो समय बिताएका एड्रियन लोसले नेपाललाई जति बुझे, सामान्य नेपाली नागारिकका लागि अच्चम लाग्दा छन् ।
कुरा चालीसको दशक तिरको हो । कर्णाली प्राविधिक शिक्षालयको भवन बनाउने सन्दर्भमा एड्रियनले कर्णालीको कुण्ठालाई आफैले भोगे । त्यस बेलाको बिजोग सम्झदै भन्छन्, “त्यो वास्तवमै कठिन थियो।”
सामान जुटाउन सारै सकस तर पनि भवन बनाउनै पर्ने लक्ष्य । नेपालगञ्ज वा सुर्खेतबाट हेलिकप्टरमा ल्याउन पनि सारै महंगो पर्ने । हिडाएर वा बोकाएर त्यो पनि सारै कठिन हुने । १० देखि १२ दिनसम्म लाग्ने । तत्कालिन राजा विरेन्द्र शिक्षालयका अध्यक्ष थिए, एड्रियन चाँही उपाध्यक्ष । यसकारण पनि राजाको कडा निर्देशन एड्रियनलाई प्रत्यक्ष नै थियो । निर्देशन छिटो काम देखाउनु पर्छ भन्ने हुनेगर्थ्यो। अहिले पनि एड्रियन सम्झन्छन् ।
रड, सिमेन्ट, इटा शहरमा मात्रै थियो । विकट गाउँमा त देख्नै पाइदैन थियो । शहरबाट लैजान नै कठिन के गर्ने के गर्नै ? एड्रियन त्यस बेलाको अन्यौल संझिन्छन् ।
लामो समयको अन्यौलता पछि स्थानीय सामग्री नै प्रयोग गर्ने निर्णय भयो । खासमा राजा विरेन्द्रलाई त्यति विकटमा भए पनि आधुनिक किसिमको भवन बनाउने इच्छा थियो । विकास निर्माण संभव छ भन्ने देखाउनु थियो सायद !
एड्रियनले स्थानीय ढुंगा, स्लेट, काठ र विशेष किसिमको चिम्टाइलो माटोको खोजी गरे । खोजे जस्तै सामग्रीको व्यावस्था हुने भयो तर सामग्री पनि निक्कै टाढाबाट मानिसले बोकेर नै ढुवानी गर्नु पर्थ्यो। मानिसले बोक्नु बाहेक विकल्प नै भेटिएन । लगातार ८–९ घण्टासम्म बोक्नु पर्ने बाध्यता ।
बोक्न पाउँदा स्थानीयको खुशी देखेर एड्रियनको आशा बढ्यो । यसपछि आयोजनाले दिने पारिश्रमिक पनि बढाइयो । मानिसहरु लगातार ८–९ घण्टा सम्म बोक्नु पर्दा पनि उत्साही देखेर एड्रियनले आफ्नै उर्जा थपिएको महशुस गरे । एड्रियन भन्छन् “मलाई स्थानीयले नै बढी उत्साहित गरे ।”
जाडोमा न्यानो र गर्मीमा शितल भवन
सामग्री पनि संकलन भयो । बनाउने डिजाइन पनि तयार भयो । कर्णालीमा जाडो मौसमा बढी जाडो र गर्मी मौसममा बढी तातो हुने भएकोले भवन निर्माण गर्दा नै यस कुरामा ध्यान पुर्याउँन भनियो । त्यस पछि गर्मीमा कम र जाडो मौसममा धेरै घाम छिर्ने गरी भवनको डिजाइन गरे ।
एड्रियन को डिजाइन पनि के भनिने हो भन्ने जिज्ञाषा उनलाई त थियो नै स्थानीयलाई झनै ठूलो चासो थियो । राजाले नै मनपराए पछि अरु त सबै हुन्छ भन्ने भैहाले । अन्ततः राजाले मन पराउनु भयो । यो चरण पनि पार भयो ।
तर उनलाई सामान्य लाग्ने विषयमा राजाको कडा निर्देशन आयो । “रंग रातै हुनु पर्छ !” सबै जना चुपचाप । स्तब्ध भए । राजाको आदेश कस्ले के भन्ने ? सबैले एड्रियन तिर नै हेरे । उनी फेरी अन्यौलमा परे । उनले सहास बटुलेरै भने “महाराज बरु मलाई जेल हालिबक्सियोस तर रंग रातो हुदैन।”
यसो भन्नुको कारण चैं प्रचलित रातोमाटोको सट्टा चुनढुंगाबाट छुट्टै सामाग्री बनाएका थिए उनले । जसको पकड तथा भार बहन क्षमता माटोभन्दा बेसी थियो । रातो माटोको प्रयोगले यसलाई कमजोर बनाउने उनको निष्कर्ष थियो ।
दुई दशक लामो नेपालको निर्माण व्यवसायमा संलग्न यी विदेशी इन्जिनियर स्थानीय साधन र श्रोतको व्यापक प्रयोग गर्न सकिने बताउँछन् । स्थानीय प्रविधिलाई तरिका पुराएर प्रयोग गरेमा दीगो हुने कुरालाई यिनी दोहोराइरहन्छन् ।
नेपालको प्रकृतिमा नै बलियो बनाउने रसायन भएको उनको बुझाइ छ । यिनको नजरमा बसेका निर्माण सामग्रीहरुमा डुंगा, चुनढुंगा, स्लेटढुंगा कमेरो, काठ, रातो माटो, वालुवा, इट्टा पानी, आदि छन् । तर निमार्णका क्रममा यसको प्रयोगमा ध्यान पुराउनु नै पर्छ । उनी चार पक्षलाई महत्वपूर्ण मान्छन् तापक्रम, मिसावटको रेसियो, हावाको मात्रा, चिसोको मात्रा । यीनको सुत्र नै छ “किप इट सिम्पल एण्ड सर्ट ।”
साधारण शैलीका घरहरुबाट पनि सन्तोष पाइन्छ । जसलाई सरल, सजिलै बनाउन सकिन्छ । यसलाई सुन्दर र स्वस्थ्य वद्र्धक बनाउन स्थानीय सामग्री नै उपयोगी हुने एड्रियनको सल्लाह छ ।
काठमाडौंका आधुनिक घरहरुप्रति एड्रियन सन्तुष्ट छैनन् । थोरै र साधुँरा ठाउँमा बनेका घरहरु बस्न योग्य छैनन् । सित्तैमा उपलब्ध हुन सक्ने उर्जालाई सदुपयोग गर्न सकिएको छैन । दिउसै बत्ती बाल्नुपर्ने घरहरु सही मान्न सकिँदैन । उनी भन्छन् “बिजुलीमा नचाहिने खर्च भयो ।” हावा गतिशिल हुन सकेन । कोठाभित्र ताजापन ल्याउन सकिएन । घामको प्रकाश नै पर्याप्त भएन । एड्रियनले गुनासो गरे । सित्तैमा पाइने अपरिहार्य उर्जालाई वेवास्ता गरियो ।
जुम्लामा जोशिएका विदेशी
सन् १९८० मा युएमएन मिसनमार्फत एड्रियन नेपाल आएका थिए । उनको टोलीले नेपाल छिट्टै छोडे पनि उनी भने हालसम्म छन् । जुम्लामा आए पछि शुरुमा हाइड्रो पावरको निर्माण पछि भवन निर्माणमा लागे । काठ चिर्ने कामका लागि यसो गर्नु परेको उनी बताउँछन् । स्थानीय सामान र श्रोतको प्रयोगलाई नै प्राथमिकता दिने उनको उद्देश्य थियो । भुकम्प पछि उनले बनाएका भवन जोगिएको र यसले धेरैलाई सुरक्षित तुल्याएको थाहा पाए पछि एड्रियन धेरै खुशी भए ।
नेपाली कामदार मेहेनती र सिर्जनसिल छन् तर उनीहरुसंग प्रविधि छैन् । “सिर्जनसिलताका लागि नेपालीले निर्माणमा खर्च गर्नै पर्छ ।” उनको सुझाव छ ।
प्रस्तुतिः सुरेश सुवेदी