एनआरएनए अमेरिका सदस्यता वितरण अभियान : प्रमुख अतिथि को बन्ने भन्नेमा लफडा (भिडियो)
बाल्टिमोर,अमेरिका । लामो अन्यौता पछि गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाले सदस्यता खुलाएको पनि ६ हप्ता नाघेको छ।
विडम्वना यो बीचमा मुस्किलले पाँच सय जनाले सदस्यताका लागि दरखास्त दिएका छन्। संसारमै सबै भन्दा धेरै सदस्य भएको इतिहास दोहोर्याउन धेरै नै पापड पेल्नु पर्ने देखिदै आएको छ।
सर्वधारणलाई एनआरएनएको सदस्यता बनिदेउ भन्नका लागि सकारात्मक सन्देश दिनु पर्ने पदाधिकारीहरु भने आफैमा लफडा गर्नमा तल्लिन भएका छन्।
यति सम्मकी सार्वजनिक मञ्चमा नै उनीहरु एकले अर्कोलाई देखाइदिने भन्दै पाखुरा सुर्कन पुगेका छन्।
एनआरएनए अमेरिका अन्तर्गत मेरील्याण्ड च्यापटरले अप्रिल १८ तारिक मंगलवार साँझ आयोजना गरेको कार्यक्रमा यस्तो भएको हो।
कार्यक्रम संचालक च्याप्टरका उपाध्यक्ष प्रेम सुवेदीले प्रमुख अतिथिमा एनआरएनए अमेरिकाका उपाध्यक्ष दिलु पराजुलिको नाम बोलाए पछि, हलमै रहेका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले आपत्ति जनाए।
‘विधान अनुसार गर्नुस तपाईहरु नत्र म यहाँ बस्दिन।’ झोक्किदै पन्तले भने,’ जे पायो त्यही गर्ने बरिष्ठ उपाध्यक्ष भन्दा उपाध्यक्ष ठूलो हुन्छ ?’
हलमै रहेका प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय किमटी अमेरिका र क्यानडाका ईञ्चार्ज प्रमु थापाले पनि पन्तको भनाईमा हो मा हो मिलाए। ‘उहाँ निर्वाचित बरिष्ठ उपाध्यक्ष हो मनोनित होइन ।’
‘दिलु जी मेरो राम्रो साथी हो तर यो तरिका ठिक भएन।’ बरिष्ठ उपाध्यक्ष पन्त अझै शान्त भएनन्।
‘अब हजुरहरुले जे गर्नु हुन्छ त्यो सबैलाई स्वीकार्य हुन्छ।’ अलि लजालु मुस्कानमा दिलु पराजुली बोले।
हलमा २४ जना थिए। पन्तलाई प्रमुख अतिथि र पराजुलीलाई विषेश अतिथि बनाउने सहमति भयो।
उद्घोषक सुवेदीले आफ्नो गल्ति सच्चाए। क्षमा पनि मागे।
तर कुरा त्यतिमा टुङ्गिएन। जव आफ्नो मन्तव्यको पालो आयो, बरिष्ठ उपाध्यक्षले पुरानो कुरा कोट्टाए। पोडियम ठोक्दै भने ‘मेरो अपमान भयो…, घेराबन्दी गर्ने ।’
‘मलाई बोलाउदा अप्ठेरो हुन्छ भने नबोलाउनु होला प्लिज’ पन्तले भने,’तपाईहरुले जानजानि गल्ति गरेको हो भने मेरो ठूलो आपत्ति हुन्छ र केही नैसियत दिन चाहान्छु, नजानि गरेको भए मेरो केही आपत्ति छैन।’
च्याप्टर सभापति राजु पराजुली पनि के कम। कार्यक्रमको समापन गर्न मञ्चमा पुगेका उनले कारवाही गरेर देखाउन चुनौति दिए।
‘लिडरसिपले माया प्रेम सद्भावले लिडरिसप हुने हो धम्काएर यो गरि दिन्छु उ गरिदिन्छु, त्यो भनेको भरमा लिडरसिप भइदैन।’ आक्रोशित देखिएका च्याप्टर अध्यक्ष पराजुलिले भने,’म कमजोर छैन।’
‘म पनि निर्वाचित च्याप्टर अध्यक्ष हो तपाईले टिको लगाउर दिएको होइन, तपाईले यो गरिदिन्छु भनेको भरमा म पछि हट्ने वाला छैन।’ उनले थपे,’अमेरिकामा कसैको कोही हलि हुदैन कोही गोठालो हुदैन, धम्काएको भरमा केही हुदैन।’