नेपाल र अमेरिकी झण्डा फहराएर बानाले नयाँ वर्ष मनाउने
मेरिल्याण्ड,अमेरिका / बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (बाना) ले नेपाल र अमेरिकाको झण्डा फहराएर नयाँ वर्ष २०८० मनाउने भएको छ।
बानाले नयाँ वर्ष मनाउने क्रममा खुल्ला स्थानमा नेपाल र अमेरिकाको झण्डा फराउने कार्यक्रम तय गरेको हो।
कार्यक्रम अप्रिल १६ तारिक आइतवार दिउँसो एक देखि साँझ पाँच बजे सम्म (Cellar 2 @ Parkville, 7631 Harford Rd, Parkville, MD 21234) हुने छ।
‘अमेरिका र अमेरिकामा रहेका नेपाली समुदायबीच एकताको भावना जगाउन बानाको कार्यालय अगाडि नेपाली र अमेरिकी झण्डा फहराउने समेत कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौ ।’ बानाका महासचिव सागर घिमिरेद्वारा विज्ञप्तिमा भनिएको छ।
सोही अवसरमा बानाले, बाना नृत्य कक्षा र बाना भाषा कक्षामा अध्ययनरत बालबालिकाहरूले विशेष प्रस्तुतिहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
‘यस कार्यक्रममा तपाईंको सहभागिता हाम्रो संस्थाको लागि सम्मान मात्र होइन, हाम्रा समुदायका सदस्यहरूका लागि एकअर्कासँग संलग्न हुने र नेपाली संस्कृतिको बारेमा थप जान्नको लागि एउटा बहुमूल्य अवसर पनि हुनेछ।’ घिमिरेले विज्ञप्तिमा भनेका छन्।
घिमिरेले कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरेका छन्। ‘तपाईंको उपस्थितिले हामीलाई नेपाली संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्न, सद्भाव बढाउन र नेपाल र अमेरिकाबीचको सम्बन्धलाई सुदृढ पार्ने हाम्रो प्रयासमा प्रोत्साहन गर्नेछ।’
उनले भनेका छन्। ‘नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै हामी तपाईंको सकारात्मक प्रतिक्रियाको प्रतीक्षा गर्दै र हाम्रो नयाँ वर्षको यो कार्यक्रममा तपाईं र तपाईंको परिवारलाई स्वागत गर्न तयार रहेका छौं।’