अमेरिकामा नेपाली मन्दिरका पुजारीका पीडा बुझिदिने कसले : शोभाकान्त ढकाल
म ज्योतिष पण्डित शोभाकान्त ढकाल । ५३ वर्षको भए। नेपालमा मेरो घर पोखरा । मैले बनारसबाट शास्त्रिय अध्यन पुरा गरेको हुँ। नेपालमा पनि म ज्योतिष पण्डित विधामा सक्रिय थिए।
सन् २०१५ मा अमेरिका आए । शुरुमा म न्यूयोर्क बसे। त्यस पछि पेन्सिलभेनिया र मेरील्याण्डमा बसे । न्यूयोर्क र पेन्सिलभेनियामा बस्दा पनि मैले पण्डितकर्म गर्ने गर्दथे। मेरील्याण्डमा हिन्दु बौद्ध मन्दिरमा १५ महिना पुजारीको रुपमा रहे । अहिले कोलोराडोको सनातन मन्दिरको पुजारी छु।
मन्दिरका पुजारीले बाहिर काम गर्न पाइदैन। बस्ने व्यवस्था मन्दिरमा हुन्छ। खानाको व्यवस्था आफैले गर्नु पर्छ । कहिले काही भक्तहरुले दिएको अक्षता र प्रसादले गुजरा चलाइन्छ नत्र आफै किन्नु पर्छ।
दैनीक १८ घण्टा सम्म खट्नु पर्छ। तर महिनाको तलव अत्यन्त न्यून हुन्छ। मेरो मात्र होइन अमेरिकमा रहेका नेपाली पण्डित पुजारीहरुको अवस्था उस्तै उस्तै हो।
अमेरिकामा जहाँ जहाँ नेपालीहरुको बाक्लो बसोवास छ त्यहाँ हिन्दु बौद्द मन्दिर छन्। सबै राज्यमा गरेर नियमित पुजा पाठ हुने मन्दिरहरु एक दर्जन भन्दा बढी छन्।
कतिका आफ्नै भवन छन भने केहीले भाडामा लिएर पनि चालएका छन्।
हिन्दु धर्म र नेपाली कला संस्कृतिको संरक्षणका लागि मन्दिर खोलिएको भनिन्छ। धर्म कमाउन मन्दिरमा स्थापना गरिएको छ। तर मन्दिर संचालनकहरुले पण्डित पुजारी माथि ठूलो ज्यादाती गरेका छन्।
मन्दिर चलाउन भन्दै सोझा साझा भक्तहरुबाट रकम असुल्ने गरिन्छ। तर मन्दिर संचालनको लागि खर्च पुगेन भन्नेर पण्डितहरुलाई मासिक रुपमा चार पाँच सय देखि १५ सय सम्म तलव भत्ता दिने गरिन्छ। टेक्सासका केही मन्दिरमा काम गरेको घण्टाको आधारमा तलव दिने गरिएको पनि छ।
भक्तजनहरुले टिका प्रसाद स्वरुप दिएको सम्मान तथा दक्षिणा पनि मन्दिरको बाकसमा नै हाल्नु पर्ने पुजारीहरुको बाध्यता छ।
साथै ब्राम्मणहरु कुनै श्रद्दालुहरुको घरमा पुजा सेवाका लागि गए पनि त्यहाँबाट आएको पैसा पनि मन्दिरमा बुझाउनु पर्ने व्यवस्था छ । तीन सय देखि पाँच सय सम्म मन्दिरलाई दिनु पर्ने हुन्छ ।
यसले ब्रामणहरुले तिसौ वर्ष सम्म गरेको शास्त्रिय अध्ययनको समेत अनाधार भएको छ। अधिकांश नेपाली र हिन्दु मन्दिरहरु संचालकहरुको एक छत्र ज्यादती भएकोले सोझा साझा नेपाल आएर आफ्नो कर्म थलो बनाएका पण्डितजीहरुको दिन चर्या कहिले सम्म चल्ने ? कसरी चल्ने ?
अमेरिका जस्तो देशमा प्रतिघण्टा न्यूनतम तलव नै १७ -१८ डलर सम्म पुगेको छ। यस्तो ठाँउमा पण्डितजीहरुको कसरी घर खर्च चल्ने । जीवन स्तर कसरी माथि उठ्ने। जहान, बालबच्चालाई कसरी पुर्याउने । यस विषयमा पण्डितजीहरुलाई कसले सहयोग गर्ने?
सबैले बुझन जरुरी छ कि छैन ? यस्तो हो भने हाम्रो हिन्दु बैद्धिक संस्कार संस्कृति धान्ने अवस्था नै सकिन्छ की ? अनि पुजारी पण्डितहरुको नै श्रमस्वषण गरेर मन्दिर संचालकलाई धर्म होला ?
यहाँ प्रश्न उठ्न सक्छ अमेरिकामा सबै स्वतन्त्र छन किन थोरै पैसामा पुजारी भएर बस्नु पर्यो अन्तै काम खोज्न जाउ न भन्ने तर्क आउला पनि । त्यो अस्वाभाविक होइन। काम जहाँ पनि पाइन्छ। तर के त्यसरी पुजारीले पुजा गर्न छोड्दै गए भने भोली हाम्रो धर्म र संस्कृति अनि संस्कार जोगिएला ?
लाखौ डलर खर्चर भव्य भवन बनाएर मात्र मन्दिर बन्न सक्छ ? पुजारी विनाको मन्दिर अनि हाम्रो धर्म संस्कृतिको कल्पना हुन्छ ?