सरकार सत्ता धरापमा पर्ने डरमा छः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार, सत्ता धरापमा पर्ने डरले देशको हितमा बोल्न सक्ने अवस्थामा नरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा रिपोर्टस क्लबले आफ्नो स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको समसामयिकमा विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशको पक्षमा बोल्दा पद खतरामा पर्छ भनेर डराउनेलाई देशको सरकार भन्न नसुहाउने टिप्पणी गरे ।
उनले भने ‘हाम्रो भूमि खुम्चिँदो छ सिमाना मिचिँदो छ तर सरकार मौन छ किनकि यसमा बोल्यो भने उसको सत्ता धरापमा पर्न सक्छ । देशको पक्षमा बोल्दा सरकार पद खतरामा पर्छ भनेर राष्ट्रको बारेमा बोल्न सकिँदैन भने त्यस्तो सरकार देशको सरकार भन्न लायक छैन । सरकारले कसमे कम हाम्रो जमिन कहाँ कहाँ मिचिएको छ छैन, हाम्रो भूगोल र भौगोलिक अखण्डताको बारेमा अभिलम्ब बोलोस् । भोलि प्रधानमन्त्रीले बोल्नुस् यहाँ हाम्रो भूमि के भइरहेको छ ।
अतिक्रमित भइरहेको छ कि छैन यस सम्बन्धमा उहाँ के गदै हुनुहुन्छ कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस् ।’
आफ्नो देशमा केही गर्न नसक्ने विदेश भ्रमणमा जानु व्यर्थ भएको उनको दाबी छ। आफू र आफ्ना कार्यकर्तालाई भरण पोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुङ्ग्याउन नमिल्ने उनको भनाई छ ।