मिटरब्याज पीडितका हरेक पाइलामा मधेस सरकारको साथ छ : मुख्यमन्त्री यादव
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितलाई मधेस सरकारको साथ र समर्थन रहेको बताएका छन् ।
बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै उनले, मिटरब्याजी पीडितको हरेक पाइलामा मधेस सकारको साथ रहेको भन्दै नागरिकलाई मिटरब्याजीबाट बचाउन ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।
‘विदेश जान वा अध्ययन गर्न वा अन्य भै परि गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटरब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले मिटरब्याजी मधेस प्रदेशको मात्र नभई पूरै देशको समस्या भएको भन्दै समाधानका लागि विज्ञ, चिन्तक, योजना विद्, सबैलाई आव्हान गरेका छन् ।
‘हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनि तथापि यो प्रदेशको मात्र समस्या होइन् । प्रदेशबाट उठेको देशको समस्या हो । गरिब झन् गरिब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रूपमा लड्न म मधेस प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरूलाई आव्हान गर्दछु ।’
उनले शोषणविरुद्ध केन्द्र, राष्ट्र बैङ्क तथा प्रदेश समेतले मिलेर संयुक्त रूपमा काम गर्न, विशेष अधिकार सम्पन्न आयोग खडा गर्न जरुरी भएको भन्दै आम जनतामा सहज र सुलभ रूपमा ऋण प्रवाह हुनुपर्ने कुरामा जोड दिएका छन् ।
उनले विज्ञप्तिमा केन्द्र सरकारले मिटरब्याजीलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत समेत गरेका छन् ।