आक्रन्त मनलाई उर्जामा बद्लने उपाय
काठमाडौं / नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली अभियन्ता अमेरिकाको टेक्सास निवासी कृष्ण लामिछानेको मृत्यु पछि विभिन्न पाटाहरु खुल्दै गएका छन् । उनको मृत्यु प्रकरण अमेरिकी नेपाली समाजमा जबर्जस्त बहसको विषय बनेको छ ।
लामिछाने मार्च २१ तारिक दिउँसो आफ्नै घरमा मृत भेटिएका थिए । स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानमा लामिछानेको मृत्युमा अपराधिक गतिविधि नदेखिएको भनेको छ । प्रहरीले आफु अनुसन्धानमा नै रहेको पनि जनाएको छ ।
लामिछानेको निधन पछि उनको पारिवारिक कलहका विभिन्न अडियो भिडियोहरु सार्वजनिक भएका छन् । जसमा लामो समय देखि उनको परिवार आक्रन्त रहेको अनुमान गर्न सकिन्छ।
लामिछाने प्रकरण मात्र होइन । नेपालमा पनि व्यावसायीहरु ‘तन-मन’ जलाइरहेका छन् । जलाइरहेको ‘तन-मन’लाई जीवन दिन हाम्रा आफ्नै श्रोतहरु छन् । तर त्यसको उपयोग कमै मात्र भइरहेको छ र हामी ठूला ठूला दुर्घटनाका शिकार भएका छौ।
छिमेकी देश भारत आणविक शक्तिले सम्पन्न छ, जसको श्रेय एपीजे अब्दुल कलामलाई जान्छ ।
यो थोरैलाई थाहा होला कि, उनले फाइटर जहाजको पाइलटका लागि परीक्षा दिएका थिए । २२ जनाले परीक्षा दिएकामा उनी एक जना मात्र फेल भए ।
जबकि उनले त्यो परीक्षाका लागि बहिनीको गहना बेचेर गएका थिए । तब उनी एकदमै निराश भए र डिप्रेसनमा पुगे । अन्ततः आत्महत्या गर्न भनेर गंगाको किनारमा पुगे । त्यहाँ उनले शिवानन्द स्वामीलाई देखे ।
उनलाई लाग्यो, ‘म मर्न त मर्छु नै । तर एकपटक स्वामीलाई सोध्छु आखिर मैले त्यस्तो के पाप गरेको थिएँ र यसरी असफल भएँ ?’
स्वामी शिवानन्दको सल्लाह र गीता ज्ञानको प्रभावले उनी भारतमा आणविक बमको सूत्रधार भए । अब्दुल कलामले गीताप्रतिको यही विश्वसका कारण गैरहिन्दु समुदायका भएर पनि ‘गीता-प्रेमी’ भए ।
हामीले गीता ज्ञानको महिमा धेरै सुनेका छौ । तर यसलाई जीवन उपयोगी बनाउन प्रयासरत छन् एक युवा विदुर फुयाँल ।
उनी देश बिदेशमा रहेकाहरुलाई अनलाइनमार्फत गीतासम्वन्धी प्रशिक्षण दिइरहेका छन्। उनको अनुभवमा ‘गीतामा विज्ञान र मनोविज्ञान दुवै छ ।’
खासमा गीताले मान्छेलाई शारीरिक, मानसिक, आत्मिक र सामाजिक रुपमा स्वस्थ हुने उपाय दिएको छ ।
गीता अध्ययन अनुसार प्राणायामको अभ्यास गर्ने मान्छे स्वस्थ र सुखी महशुष गर्न सक्छ । सुखानुभूति बारे भनिएको छ कि यो जन्म मात्र होइन, जन्म जन्मसम्म नै सुखानुभूति मिल्नेछ ।
गीताको यही महत्वलाई बुझेर फुयाँलले गीता ज्ञानलाई प्रेरणाको श्रोत बनाएका छन्। साथै गीतामार्फत ज्ञान प्रेरणा खोज्नेहरुका लागि पनि सहयोग पनि गर्दै आएका छन्। न्युनतम् शुल्कमा प्रशिक्षणमार्फत ।
श्रीमद्भागवत गीतामा सात सयवटा श्लोक छन् । र, सम्पूर्ण गरेर १८ वटा अध्याय छन् । यसमा अर्जुनको विषाद योगबाट सुरु भएर मोक्ष सन्यास योगसम्म समेटिएका छन् ।
फुयाँलका अनुसार महाभारतको रणभूमिलाई आजको संसारको रुपमा चित्रण गर्न सकिन्छ । अनि अर्जुनमा जुन किसिमको विषाद देखिएको छ त्यसलाई आजको हाम्रो विचलित मनको प्रतिनिधि मनोदशा मान्न सकिन्छ ।
हाम्रो समय र संसार नै एउटा कुरुक्षेत्र हो । यहाँ आएपछि माया, मोह, घृणा, इर्ष्या सबैकुराले हामीलाई पिरोलेको छ । हाम्रो खुसी र आनन्द दुर्लभ भएको छ । सबै मान्छे समस्या नै समस्याको घेराबन्दीमा छन् । त्यही कारण एउटा सुन्दर जीवन पनि मान्छेले आफैंलाई सिध्याउने मनोदशामा पुगिरहेका छन् । यिनै कुरामाथि श्रीकृष्णले दिएको सारभूत जवाफ नै श्रीमद्भागवत गीताको गुदी हो ।
निराशाको साथी गीता ज्ञान
अध्ययनले देखाएको छ, विश्व सन्दर्भमा अहिले प्रत्येक ४० सेकेन्डमा एक जना मान्छेले आत्महत्या गर्छ । छिमेकी मुलुक भारतमै प्रत्येक दुई मिनेटमा एक जनाले आत्महत्या गरेका छन् । अमेरिकामा प्रत्येक नौ मिनेटमा एक जनाले आत्महत्या गर्छ । नेपालमा दिनमा औसत १३ देखि १४ जनाले आत्महत्या गर्छ ।
विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०३० सम्ममा संसारको सबैभन्दा ठूलो समस्या आत्महत्याजनित हुनेछ । मान्छेहरु चाँडै डिप्रेसनमा जानेछन् । उदासी, निराशामा जानेछन् र त्यसले अन्ततः आत्महत्याको बाटो रोज्न सक्ने छन् ।
आशक्तिले निम्ताउने आक्रन्त जीवन र यसको उपाय
हामी सबैलाई सुविधा चाहिएको छ । सफलता र प्रतिष्ठा चाहिएको छ । हामी अरुलाई जित्न हतारिएका छौं । हामी सुख–भोग गर्ने लालसाले दौडिएका छौं । हाम्रो यस्तै प्रवृत्तिको जड र त्यसको निराकरणबारे गीताको दोस्रो अध्यायको एउटा श्लोकमा भनिएको छ, ‘हे अर्जुन, कर्म गर तर फलप्रति आशक्ति नराख ।’
यसप्रति धेरै मान्छेको गलत बुझाइ देखिन्छ । खासमा यो भनाइको सार के हो भने हामी कर्मबाट भाग्न मिल्दैन । कर्म गर्नुपर्छ तर यसरी गर्नुपर्छ कि त्यहाँ फलप्रतिको कुनै आशक्ति हुनुहुँदैन । जब तिमी कर्ममा रमाउँछौं र कुशलतापूर्वक सम्पन्न गर्छौं, त्यस अनुरुप फल त मिल्छ नै ।
तर फलप्रति मात्र आशक्ति रह्यो भने त्यो दुःखको कारण हुन सक्छ र तिमीले कर्ममा आनन्द लिन सक्दैनौं । किनभने हामीले गरिरहेका कुनै पनि कामको नतिजा हामीले सोचेजस्तो दुरुस्तै नहुन सक्छ । कहिले यसबाट नराम्रो नतिजा हासिल हुनसक्छ भने कहिले अनपेक्षित सफलताको ढोका पनि खोलिदिन सक्छ । अर्थात् यो अनिश्चित छ । अनि त ! अनिश्चित कुरामा हामीले आशक्ति राख्नु र चिन्ता लिन जरुरी छैन भन्ने हो ।
प्रस्तुति: सुरेश सुवेदी