अमेरिकामा नेपाली समुदायका लागि शुरु भयो ‘खुल्ला मञ्च’
ह्यारिषबर्ग,पेन्सिलभेनिया / नेपाली समुदायका व्यक्तिमा रहेको प्रतिभालाई प्रस्फुटित गर्ने उदेश्यले अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिषबर्गमा ‘खुल्ला मञ्च’ शुरु भएको छ।
समास फाउण्डेशन र एशियन रेफ्युजी युनाइटेड (एआरयु) ले सहकार्यमा शनिवार (मार्च २६) देखि ‘खुल्ला मञ्च’ शुरु गरेका हुन्।
आयोजकले विषेश गरि युवा प्रतिभालाई अवसर दिन यस्तो कार्यक्रम गरेको बताएका छन्।
‘प्रतिभालाई ठूलो प्लाटफर्ममा कसरी ल्याउन सकिन्छ, उनीहरुको प्रतिभालाई निखार्नका निमित्त, आफ्नो शृजनालाई बाहिर कसरी ल्याउन भनेर सोचिरहेकाहरुलाई प्रोत्साहन दिन यो कार्यक्रम गरिएको हो।’ कार्यक्रमको उदेश्य प्रस्टाउदै समास फाउन्डेशनका सचिव पर्शु अधिकारीले समाज टाइम्स सँग भने।
एआरयुको ह्यारिषबर्ग स्थित कार्यलयमा रहेको युथ सेन्टरमा शनिवार भएको कार्यक्रममा १३ जनाले आ आफ्नो शृजना प्रस्तुत गरेका थिए। सहभागिहरु पाँच देखि ४२ वर्ष सम्मका थिए। उनीहरुले गजल बाचन गरे, कविता सुनाए अनि गित पनि गाए।
यस्तै ५० भन्दा बढी दर्शक श्रोताको उपस्थिति रहेको हलमा बक्तृत्वकला पनि प्रस्तुत गरिएको थियो। साथै आफुले कोरेका चित्रको कथापनि उनीहरुले सुनाएका थिए। केही सहभागिले हास्यब्यङ्गमा पनि प्रस्तुति दिएका थिए।
‘हाम्रो लक्ष्य भनेको युवा र समुदायलाई एकै ठाउँमा आउन, प्रतिभा र कुराकानीमा साझेदारी गर्न मञ्च प्रदान गर्नु हो।’ समासका सचिव अधिकारीले भने, ‘हामी सबै स्तरका कलाकारहरूलाई प्रोत्साहन गर्छौं, नयाँ देखि विशेषज्ञसम्म, दर्शकहरूको अगाडि उनीहरूको सीपलाई तिखार्न।’
सचिव अधिकारीका अनुसार प्रतिभाको अभिबृद्दिका लागि शुरु गरिएको कार्यक्रम अब देखि हरेक महिनाको अन्तिम शनिवार नियमित हुने छ।
आगामी कार्यक्रम अफ्रिल २९ तारिक शनिवारका लागि तोकिएको छ।
समास फाउन्डेशन नेपाली भाषा, कला, साहित्य र संगितको क्षेत्रमा काम गर्न सन् २०२१ मा स्थापना भएको संस्था हो।
यसै गरि क्यालिफोर्निया बेस रहेको एआरयुले गत वर्ष देखि ह्यारिषबर्गलाई पनि आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो। एआरयुले युवाहरुमा लिडर सिप र बौद्दिक विकासका लागि काम गर्छ।
खुल्ला मञ्चका लागि एयुआरको तर्फबाट रविन गुरुङ संयोजक छन्।
फोटो : सौजन्य पर्शु अधिकारी