सञ्चारमाध्यमका विषय बस्तुबारे प्राज्ञिक बहस : पत्रकारिता प्रति उठेका प्रश्नबाट भाग्न नसकिने वक्ताहरूको भनाई
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बदलिँदो परिस्थिति र सञ्चारमाध्यमका विषयवस्तुका सन्दर्भमा अबको पत्रकारिता विषयमा अन्तरक्रिया गरिएको छ ।
राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता प्रति प्रश्न उठ्ने गरेको भन्दै त्यसबाट भाग्न नसकिने बताएका छन् ।
उहाँले सञ्चारमाध्यमका विषयवस्तुको विश्वासीयतामा प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरूलाई स्वीकार गरी सञ्चारमाध्यमका सामाग्रीमा विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिए । हिजोको पत्रकारिता अभ्यासका आधारमा गरिँदै आएको भन्दै आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त भएकाले पत्रकारिता पेसामा अवसर र चुनौती दुवै रहेको अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा सहभागी सञ्चार विज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूले सञ्चार माध्यका विषयवस्तुमाथि विश्वसनीयता कायमा राख्न र समयानुकुल प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्व सभापति डा.सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेसागत सिद्धान्तबाट विमुख हुँदा अन्य माध्यमहरू हाबी हुन थालेको बताएका छन् ।
‘पत्रकारिता चाहिने भन्दा नचाहिने विषयमा केन्द्रित भयो हामीले स्वतन्त्रताको उपभोगको प्रश्न जोडिएको विषयमा निरन्तर बहस गर्नुपर्छ पत्रकारिताको सिद्धान्त स्वार्थमा जोडिएको छ ।’
प्रेस स्वतन्त्रताको उपभोगको प्रश्न जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिँदै सञ्चारमाध्यमका विषयवस्तु सामाजिक न्यायका लागि केन्द्रीय हुनुपर्नेमा जोड दिए ।महासङ्घका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौती र अवसर थपिएको बताए ।
उनले भने ‘पत्रकारितामा चुनौती छ । यो सृजनात्मक प्रोफेसन हो । हिजोको सृजना अध्ययन अनुसन्धान हुन्थ्यो भने आजको सृजना प्रविधिलाई प्रयोग गर्नु पनि हो ।’
उनले पत्रकारितालाई प्रविधि, शैली र समाज रुपान्तरणसगै मिडियाको रूपान्तरण गर्नु जरुरी रहेको बताएका छन् ।
महासचिव रोसन पुरीले मुलधारको पत्रकारितामा धेरै कमजोरी रहेको बताए । उनले मूलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयवस्तुलाई कम स्थान दिने भन्दै नेपाली सञ्चारमाध्यम परम्परागत शैली र प्रश्नहरूबाट गुज्रेको टिप्पणी गरे ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ, यस विषयमा छलफल र समीक्षा हुनुपर्ने आवश्यकता औँल्याए।
उनले भने ‘अहिलेको पत्रकारितालाई नकारात्मक आँखाले हेर्यौ भने अन्याय हुन्छ । होइन राम्रो गरिरहेका छौ भन्ने लाग्छ भने त्यो पनि ठिक हुँदैन ।अहिले पत्रकारिता माथि प्रश्नै प्रश्नको घेरामा छौ ।’
उनले सञ्चारमाध्यमले पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ कि छैन भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने जुन कुनै सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिए ।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कारबाही गर्नुपर्ने बताइन्।
सञ्चार क्षेत्रका विकृति विसङ्गति अन्त्यका लागि सञ्चार साक्षरता अभियान चलाउनु आवश्यक रहेको उनको भनाई छ ।
त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले नेपाली पत्रकारिता सुरुवातका दिनमा र अहिले उस्तै रहे पनि प्रविधिका रूपमा भने धेरै परिवर्तन भएको बताए ।
पत्रकारले सिक्ने सिकाउने कार्य निरन्तर जारी राख्दै परिवर्तित समयमा सूचना तथा सन्देशलाई सहज र सरल ढङ्गले लक्षित समुदायमा पु¥याउन ध्यान दिनुपर्ने उनको सुझाव छ । उनले महासङ्घ लगायत सरोकार संस्थाले पत्रकारिताको क्षमता अभिवृद्धि र गलत सूचना सम्प्रेषण रोक्न पहलकदमी लिनुपर्ने सुझाव दिए ।
दैनिकी डटकमका प्रधानसम्पादक माधब तिवारीले, पत्रकार महासंघले पत्रकारका समस्या समाधान भन्दा राजनीतिमा ध्यान दिएको भन्दै आक्रोस पोखे ।
उनले भने ‘ महासङ्घले पत्रकारको समस्याको नाममा राजनीति गरोस् भन्ने चाहेका थियौँ गर्नुपर्ने पनि त्यही थियो तर पत्रकारको समस्यामा भन्दा पनि पत्रकारको सङ्ख्या बढाएर भोलि नेतृत्व गर्ने विषयमा महासङ्घ केन्द्रित देखियो । ’
नेपाल पत्रकार महासङ्घ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागका संयोजक शान्ताराम विडारीले हाल सञ्चार क्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले पछिल्ला दिनमा पत्रकार तथा सञ्चार क्षेत्रप्रति प्रश्न उठ्न थालेको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले आलोचनात्मक विवेचना गर्दै सञ्चारमाध्यमका विषयवस्तुको विश्वासीयतामा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पत्रकारित अध्ययनरत विद्यार्थी तथा पत्रकार साथै सरोकारवालाहरूले आफ्नो अनुभव, प्रश्न र जिज्ञासा राखेका थिए ।