कामपाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था अभिलेख राख्न थाल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा ५ मा ६८ बर्ष उमेर समूहका ५३० जना ज्येष्ठ नागरिकमध्ये ३३४ जनाले नियमित रुपमा मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्नुहुन्छ । जनस्वास्थ्य विभागले गएको फागुन १४ गतेदेखि १६ गतेसम्म १ हजार ६६८ घरपरिवारमा पुगेर संकलन गरेको तथ्याङ्कले यो अवस्था देखाएको हो ।
यसरी औषधि सेवन गरिरहेका विरामीहरुले कुन कुन औषधि सेवन गर्नुहुन्छ? अभिलेख उतार्न र अहिलेको अवस्था कस्तो छ? परीक्षण गर्न आइतबारबाट ३ दिने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सुरु भएको छ । शिविरमा गंगालाल हृदय केन्द्रका कार्डियोलोजिष्ट डा. संजिता अन्सारीसहित विशेषज्ञ चिकित्सक स्वास्थ्य परीक्षणमा खटिनुभएको छ । त्यस्तै स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. सुनिता शर्मा, महानगरका मेडिकल अफिसर प्रशान्त भट्टलगायत स्वास्थ्यकर्मी शिविरमा छन् ।
शिविरबाट प्राप्त सूचनाका आधारमा उहाँहरुलाई औषधि उपलब्ध गराउने महानगरको योजना छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य आफ्नो सरोकार रहेको बताउँदै वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, ‘स्वास्थ्य उपचारलाई सरल, सहज र पहुँचयुक्त बनाउन सकियो भने नागरिकलाई ठूलो राहत प्राप्त हुन्छ । यसका लागि काम भइरहेको छ ।’
वडा ५ बाट थालिएको कार्यक्रम अन्य वडामा विस्तार गर्दै लैजाने योजना छ । जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्छन्, ‘तथ्याङ्कबाट योजना बनाउन सजिलो हुन्छ । योजनावद्ध कामले लक्ष्य हासिल गर्न सहज बनाउँछ ।’
वडा ५ मा तथ्याङ्क संकलन गर्दा ६८ बर्ष उमेर समूहका नागरिकलाई सहभागी गराइएको थियो । रक्तचाप तथा मधुमेह परीक्षण र औषधि वितरण कार्यक्रमका संयोजक ल्याब टेक्निसियन अफिसर राधिका कुइँकेल, अभिलेखको प्रयोजनका बारेमा जानकारी दिँदै भन्छन्, ‘शिविरबाट प्राप्त तथ्याङ्कले महानगरलाई स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन सहयोग गर्नेछ ।’