राष्ट्रपति पौडेलले क्रिकेटरलाई के भने ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्दै विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा स्थान पक्का गरेको नेपाली क्रिकेट टिमका खेलाडी र नेपाल क्रिकेट संघ क्यान पदाधिकारीलाई शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन् ।
उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउँदै नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको र देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।
राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्नेमा जोड दिए । विहीबार युएईलाई डिएल मेथडमा ९ रनले पराजित गर्दै नेपाल आईसीसी विश्वकप लिग टूको तेस्रो स्थानमा रहेको हो । यही तेस्रो स्थानका कारण जिम्बाबेमा हुने विश्वकप ग्लोबल क्वालीफायरमा स्थान पक्का गर्न सफल भएपछि अहिले नेपाली क्रिकेटलाई बधाईको ओहिरो नै लागेको छ । आज विहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा क्रिकेट टोलीलाई भेटेरै बधाई मात्रै दिएका छैनन् भने जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेका छन् ।