नेविसंघको चुनावी घोषणापत्र सार्वजनिक : विश्व विद्यालयले आफ्नो विश्वसनीयता गुमाएको अध्यक्ष शेर्पाको आरोप
काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले, विश्व विद्यालयले विश्वसनीयता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजीत स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले, विद्यार्थीहरुको आन्दोलनले देशको व्यवस्था परिवर्तन भएपनि विश्वविद्यालयको अवस्था भने परिवर्तन हुन नसकेको बताए ।
उनले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा समस्या बढेको उनको भनाई छ ।
‘व्यवस्था परवर्तन भएपछि पनि अझैपनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन सकेको छैन । आज सानो–सानो कुराहरु समयमा परीक्षा नहुने, समयमा नतीजा नआउने र लामो समयसम्म विद्यार्थीहरुले नतीजा कुर्नुपर्ने, नतीजा कुर्दाकुर्दै खाडी देशमा जानुपर्ने अवस्था हामीले देखिरहेका छौं ।’ उनले भने।
अध्यक्ष शेर्पाले भने, ‘समाजले विद्यार्थी नेताहरुलाई हेर्ने दृष्टिकोण नै गलत भएको छ । आफ्नो विश्वानियताहरु कायम गर्न नसकेको कारण यो अवस्था आएको हो । विश्व विद्यालयले आफ्नो विश्वसनीयता गुमाएको छ । आज प्रत्यक नेतृत्वले आफुले बोलेको कुरा पुरा गर्न नसकेको कारण गर्दा विश्वासनीयता गुमाएको छ । ’
विश्वविद्यालयले आफ्नो विश्वसनीयता कायम गर्न नसक्दा विद्यार्थी संख्या घटिरहेको उनको आरोप छ ।
समयमा परीक्षा नहुने, समयमा नतीजा प्रकाशन नहुने, प्रश्नपत्र दोहोरिने लगायतका कारण विश्वविद्यालयले आफ्नो विश्वसनीयता गुमाइरहेको उनले बताए । घोषणा पत्रमा सबै विद्यार्थीहरूको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा गराउने र विद्यार्थीहरूलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने नेविसंघले जनाएको छ ।