सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन
काठमाडौं । १० दलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको १० दलीय गठबन्धन निस्कर्षबिहीन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिए ।
उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने जानकारी दिए । वैठकपछि सञ्चारकर्मीसँग भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ ।’
नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा सामान्य छलफल शुरु भएको पनि जानकारी दिए । पुस १० गते बनेको एमालेसहितको गठबन्धन भत्किएपछि अहिले नयाँ गठबन्धन बनेको हो ।
३ गते उपराष्ट्रपतिको चुनावपछि ५ गते संसद बैठक डाकिएको छ । ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।