अनावश्यक विदेश भ्रमण नगर : सरकार
काठमाडौं । सरकारले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक अरुबेला विदेश भ्रमण नगर्न निर्देशन दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीलाई अति आवश्यकबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न भनेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने जानकारी दिइन् ।
वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि मन्त्रिपरिषद् बैठकले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको शर्माले बताइन् । पछिल्लो समय देशको आर्थिक अवस्था दिन प्रतिदिन खराव भएको रुपमा रहेको भन्दै यो निर्णय भएको हुनसक्ने आँकलन गरिएको छ ।
यस्तै, मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ भने यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिवको संयोजकत्वमा कार्यन्वयन सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरेको छ ।